काठमाडौं– शनिबार देखि सुरु भएको नेकपा एमालेको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा आइतबार दिउँसो ३ बजेदेखि सुरु हुने तालिका छ । बन्दसत्रअघि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छ ।
आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली तेहेरिने दाउमा छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गरेर अध्यक्षमा आफू आउने दाउ हेरिरहेका छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बीचमा केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र ढिलो हुने भएको हो । केन्द्रीय समिति बैठकले पदाधिकारीसहित केन्द्रीय समितिको सङ्ख्या ३०१ सदस्यीय हुने टुङ्गो लगाएको छ । सोहीअनुसार अब बन्द सत्रमा प्रस्ताव पेस हुनेछ ।
यस्तै केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाहरुलाई कम्तिमा पनि १५ प्रतिशत दिनुपर्ने माग जोडबलका साथ उठेको छ । बिहानको बैठकमा पनि यसबारेमा माग जोडतोडले उठेको छ । गौतमका अनुसार अन्डर–४० को प्रतिनिधित्वका लागि आवश्यक क्लस्टर कसरी बनाउने भन्ने विषयमा अन्तिम निर्णय बाँकी छ । पुराना विद्यमान क्लस्टरहरूभित्रै युवाको प्रतिनिधित्व सुनिश्चित गर्न नेतृत्वलाई जिम्मेवारी दिइएको उनले जानकारी दिए ।
यस्तै एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो । वरिष्ठ उपाध्यक्षबाहेक नै एमालेले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्यीय बनाएको छ ।
गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी सङ्ख्या घटाएर १५ मा झारेको थियो। तर, अहिले पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि अध्यक्ष ओलीले पदाधिकारी सङ्ख्या बढाएर पुनः १९ पुर्याएका हुन् ।
यस्तै उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने भएका छन् । नयाँलाई अवसर दिने भन्दै उनीहरू प्रतिस्पर्धाबाट पछि हटेका हुन् ।
जारी केन्द्रीय कमिटी बैठकमा उनीहरुले यस्तो घोषणा गरेका हुन् । उनीहरू दुवै जना ईश्वर पोखरेल पक्षमा खुलेर लाग्दै आएका छन् । साथै उनीहरुले अब सक्रिय राजनीतिमा पनि नरहने बताएका छन् । पार्टीभित्र राजनीतिमा रहे पनि चुनावी मैदानमा भने अब नउभिने उनीहरुको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।