काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दावी गरेका छन् ।
नेता बस्नेतले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले एकपछि अर्को षड्यन्त्रको खेल सार्वजनिक भएको दाबी गरेका हुन् ।
उनले लेखेका छन्, `दुई दिनअघि मात्र प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भएको भनिएको वार्तामा ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ ।´
उनले यो घटनालाई हिजो मात्र `जेनजी समूहको नाममा गरिएको नाटकीय वार्ता र सम्झौता´, हिमेश पन्तलगायतका सेलिब्रिटीहरूले फैलाएको भ्रम र `केपी ओली गिरफ्तार भन्ने मिडिया ट्रायल´ सँग जोडेर हेरेका छन् ।
‘हिजै जेनजी समूहको नाममा गरिएको वार्ता र सम्झौताको नाटक,हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको गलत भ्रम, “केपी ओली गिरफ्तार” भन्ने मिडिया ट्रायल सबै कुरा एउटै दिशातिर संकेत गर्छन्’, बस्नेतको भनाइ छ । उनले एमाले महाधिवेशन भाँड्ने, आतंक फैलाउने, सहभागिता घटाउने, र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । ‘तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ । पार्टी आफ्नो अडानमा अडिन्छ, अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन’, बस्नेतको चेतावनी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।