काठमाडौं– युट्युबलाई आधार बनाएर गरिँदै आएको ‘सनसनीखेज’प्रति सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले रोष प्रकट गरेका छन् । उनले भने, ‘अनलाइनमा आधारित टिभीको सानो हिस्सा युट्युब आएको छ । जसलाई जे पनि भनेको छ । जे आरोप पनि लगाएको छ । यो पनि पत्रकारिता हो ?’
राष्ट्रियसभामा बोल्ने क्रममा उनले हिजोआज अचम्मका प्रवृत्तिहरु देखिएको भन्दै मिडिया काउन्सिल विधेयकमार्फत् त्यसलाई नियन्त्रण गर्न खोजिएको बताए । उनले भने, ‘हिजोआज अचम्मका केही प्रवृत्तिहरु देखिएका छन् । जे पनि गर्न पाउने, त्यो नै पत्रकारिता हुने।’
युट्युबमा जे पनि प्रसारण गरिने तर उत्तर दायित्व नहुने भन्दै नियन्त्रण जरुरी रहेको उनले औंल्याए। वर्तमान व्यवस्थामाथि नै धावा बोलिरहेको प्रसंग उप्काउँदै उनले भने, ‘कयौंमा यस्तो पनि देखिएको छ, । संविधान खारेज गरौं। अर्कै चिज लिएर आउँ । यो पनि पत्रकारिता हो?’
यसलाई अलिकति नियन्त्रण गर्न खोज्यो भने ‘प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने ?’ भनेर उल्टै प्रश्न गर्ने गरेको उनले उल्लेख गरे । ‘हिजो निरंकुशकालमा जयजयगान गाएर हिँड्ने, त्यसका विरोधमा केही नबोल्ने, त्यसका विरुद्ध लड्ने शक्तिलाई अर्थोक गर्नका निम्ति चाहिँ प्रेस स्वतन्त्रता भन्ने ?’ उनले रोष प्रकट गरे।
लोकतन्त्रको रक्षाका निम्ति यसविरुद्ध लाग्नेलाई छुट दिन नसकिने उनले बताए। भने, ‘तानाशाही व्यवस्था चुँ नगर्ने, मुन्टो घोस्याएर हिँड्ने । अहिले गणतन्त्र हाम्रो पनि हो नि । देश टुक्राउन आउ, अर्कै व्यवस्थाका लागि गणतन्त्र समाप्त गर्न आउ भनेर ओपन च्यालेन्ज दिने गणतन्त्रलाई ? यो प्रवृत्तिलाई टुलुटुलु हेर्न सकिन्छ?’
यस्तो गर्नेहरुको गणतन्त्रका लागि कुनै योगदान नभएको भन्दै इतिहासले निषेध गर्नुपर्ने बताए । तर, नेपाल मौलिक संस्कार र संस्कृति भएको देश भएकाले उनीहरुलाई नागरिकका रुपमा रहन दिइएको बताए । तर, त्यो रहलपहलले अहिले पनि फणा उठाउन खोजिरहेको भन्दै उनले स्वतन्त्र प्रेसका नाममा जे पनि गर्न छुट दिन नमिल्ने बताए । भने, ‘स्वतन्त्रता छ भन्नेमा नाममा छ जे पनि ग¥या छ । कहिले कुन नेताको मानपर्दन ग¥या छ । नेकपा अध्यक्षलाई काँ लखेटेको कुटेको बताएको छ।नेताहरुलाई सिध्याएपछि, खुल्याएपछि, समाप्त गरेपछि संस्था नै सकिन्छ।’
उनले यही स्वतन्त्रता हो भन्ने कुरामा सरकार सहमत हुन नसक्ने बताउँदै आलोचना स्वीकार्ने तर व्यवस्थामाथिको प्रहार नसहने उल्लेख गरे।
सञ्चारमाध्यम आफैं न्यायधिश हुने प्रवृत्तितर्फ पनि उनले इंगित गरे । भने, ‘को हो अपराधि ? मिडियाले भन्छ । प्रहरीले छानविन गर्दा सामान्यमा गयो भने भिआइपीतिर जाउ भन्छ । भिआइपी को हो भनिदेऊ न भन्दा आफैं खोज भन्छ ।’
पहिल्यै राय दिएर समाजलाई दिग्भ्रमित बनाउने कुरा सरकारलाई सह्य नहुने उनले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।