काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले रासायनिक मलमा दिइँदै आएको अनुदानबारे सोच्नुपर्ने बेला आएको बताएका छन्।
४८ रूपैयाँमा मल किनेर सरकारले १६ रूपैयाँमा बेचिरहेको भन्दै खतिवडाले त्यसमा सोच्नुपर्ने बेला आएको बताए। 'यस्तो घाटाको व्यापार राज्यले मात्रै गर्न सक्छ, यो कतिन्जेल टिक्न सक्छ मलाई थाहा छैन,' उनले भने, 'हामीले यसबारे अब सोच्नुपर्ने बेला आएको छ।'
मन्त्री खतिवडाले नवलपरासीको धौबादीमा खुल्ने फलाम खानीको ४५ प्रतिशत सेयर निजी क्षेत्रलाई दिन लागिएको बताए। उनले बुटवल धागो र हेटौंडा कपडा उद्योग पनि निजी क्षेत्रलाई दिन तयार रहेको उनलेे बताए।
नेपाल चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा मन्त्री खतिवडाले वैदेशिक रोजगारीबाट आर्जन गरेको पैसा बैंकबाट मात्रै भित्र्याउने गरी सरकारले काम गरिरहेको पनि बताए।
मन्त्री खतिवडाले १ हजार रूपैयाँसम्म प्यान विना भुक्तानी दिन सक्ने व्यवस्थाले उद्योगी तथा व्यवसायीले एकजना कामदारलाई मासिक ३० हजार रूपैयाँसम्म भुक्तानी दिन सक्ने उल्लेख गरे।
उनलेे राजस्व चुहावट नियन्त्रण ऐनलाई व्यवहारिक बनाउन खोजिएको बताए। खतिवडाले पहिले २०० प्रतिशत जरिवानाको प्रावधान रहेकोमा अहिले त्यसलाई शतप्रतिशतमा घटाउने प्रस्ताव गरिएको बताए। उनलेे कतिपय अपराध पैसामा गणना नहुने भएकोले जेल सजाय हुनुपर्ने जिकिर गरे। उनले बदनियत राखेर काम गर्नेहरू दण्डित हुनैपर्ने बताए।
खतिवडाले भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ प्रणालीमा स्वेच्छिकरूपमा आउने व्यवसायीको संख्या बढ्दै गएको उल्लेख गरे। इन्टरनेट र प्राविधिक समस्या भएका ठाउँमा केही समयका लागि छुट दिइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।