काठमाडौं- भदौ महिनामा मात्रै १ लाख २० हजार ६ सय १२ जनाले स्यायी लेखा नम्बर (प्यान) लिएका छन्। आन्तरिक राजश्व विभागका अनुसार भदौ महिनामा मात्र दैनिक १० हजारको हाराहारीमा प्यान नंम्बर जारी भइरहेको छ।
आन्तरिक राजश्व विभागका अनुसार गत जेठ १५ देखी असार मसान्तसम्ममा ९३ हजार ४ सय २४ जनाले स्थायी लेखा नम्बर लिएका थिए। त्यसैगरी, साउन महिनामा मात्रै १ लाख ७९ हजार २ सय ३२ जनाले प्यान लिएको देखिन्छ।
चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सरकारले एक व्यक्ति एक स्थायी लेखा नम्बरको नीतिलाई कार्यान्वयनमा ल्याएको थियो। उद्योग, व्यापार, पेशा, व्यवसाय रोजगारी गर्ने व्यक्तिले आफुले गर्ने कारोबार, बैंकिङ कारोबार, जारी गर्ने बील बीजक, बैंक खाता, कागजात तथा आय विवरणलगायत कर सम्बन्धी सम्पूर्ण विवरण उल्लेख गर्न प्यान अनिवार्य गरिएको हो।
सरकारले आर्थिक ऐनमार्फत १ हजार रुपैयाँभन्दा धेरैको भुक्तानीमा प्यान अनिवार्य गरेपछि निजी क्षेत्र त्यसको विरोधमा उत्रिएको थियो।
अर्थ मन्त्रालयले गठन गरेको कार्यदलमा यसको समाधानका लागि पटकपटक छलफल भए पनि निर्णय भने भइसकेको छैन। निजी क्षेत्र र सरकारी पक्षबीच २ हजार रुपैयाँभन्दा धेरैको भुक्तानीमा प्यान अनिवार्य गर्ने गरी सहमति हुन लागेको स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।