जापानको ओसाका अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल एयरलाइन्सको जहाज मकालु। एयरलाइन्सले १२ वर्षपछि पहिलोपटक जापान उडान गरेको हो।
काठमाडौं- राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स अगस्ट २९ अर्थात् आज बिहीबार जापानको ओसाका उडान गर्न सफल भएको छ।
सन् २००७ देखि जहाज अभावका कारणले बन्द गरेको ओसाका उडान १२ वर्षपछि पुनः सुरु गरेको हो।
एयरलाइन्सले लामो दुरीका गन्तव्यमा उडान गर्न खरिद गरेको दुई वटा वाइडबडी विमान नेपाल आइपुगेको एक वर्षपछि मात्र पहिलो गन्तव्य विस्तार गर्न सफल भएको छ।
एयरलाइन्सको ए-३३० मकालु नामक वाइडबडी जहाजमार्फत् नेपाल एयरलाइन्सले काठमाडौं–ओसाका उडान सुरु गरेको हो।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको पहिलो ओसाका उडानको बिदाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेका थिए। सोही उडानमा पर्यटनराज्य मन्त्री धनबहादुर बुढा भने ओसाका नै उडेका छन्।
.JPG)
नेपाल एयरलाइन्सले जुलाई ४ मै पहिलो नियमित उडान गर्ने भनेको भए पनि २६ दिनपछि मात्रै आजबाट उडान गरेको हो। जुलाई ४ मा भने निगमले यात्रु नपाएको भन्दै उडान तालिका सारेको थियो।
यसरी, जुलाईमा उडान गर्न खोज्दै गर्दा २ सय ७४ सिट क्षमताको वाइडबडीले पर्याप्त मात्रामा यात्रु नपाएको भन्दै उडान तालिका सारेको एयरलाइन्सले बताएको थियो। ३५ प्रतिशत मात्रै अकुपेन्सीमा जहाजले पहिलो उडान गरेको हो। त्यसमा पनि निगमले सेप्टेम्बर महिनाभरका लागि प्रवर्द्धनात्मक भाडामा भन्दै दुईतर्फी भाडा ७२ हजार रुपैयाँ मात्रै राखेको छ। तर, नेपाल एयरलाइन्सले यात्रु पाउन सकेको छैन।
जापानको आसोका उडानको दुईतर्फी उडान समय १४ घन्टा हो। एक पाइलटका अनुसार एक घन्टाको उडान खर्च १५ हजार डलर पर्छ। यही हिसाबले काठमाडौं–ओसाका–काठमाडौं उडानमा साढे २ करोड रुपैयाँको हाराहारीमा खर्च हुन पुग्छ।
अहिलेको भाडादरमा निगमले फुल अकुपेन्सीमा उडान गर्न सफल भए पनि दुईतर्फी १ करोड ७५ लाख रुपैयाँ मात्रै संकलन गर्ने हो। तर, निगमले दुईतर्फी भाडा १ लाख रुपैयाँ वा सोभन्दा बढी कायम भएमा र ८५ प्रतिशत अकुपेन्सी भएमा अपरेसन खर्च उठ्न सक्छ।
घाटाको गन्तव्यमा किन निगमले उडान गरेको भनेर अहिले विरोध समेत हुन थालेको छ। निगम व्यवस्थापनले भने जापानको नारिता उडानका लागि अहिले ओसाका उडान थालेको र जनवरीदेखि नारिता उडान नै गर्ने लक्ष्य भएको बताउन थालेको छ।
दुईतर्फी भाडा १ लाख रुपैयाँ वा सोभन्दा बढी कायम भएमा र ८५ प्रतिशत अकुपेन्सी भएमा अपरेसन खर्च उठ्न सक्छ।
बिहीबारको पहिलो उडानमा निगमले ९५ जना मात्र यात्रु पाएका थियो। तर, जहाजको पहिलो उडानमा यात्रा गर्ने यात्रु भने १ सय ४६ रहेको एयरलाइन्सले जानकारी दिएको छ। जहाजमा ९५ जना यात्रुले भाडा तिरेको थिए भने अन्य ५१ जना सरकारी खर्चमा जापान पुगेका हुन्।
‘नेपाल एयरलाइन्सले ओसाका उडान गर्नु राम्रो पक्ष हो’, निगम स्रोतले भन्यो, ‘तर, मार्केटिङ अभावका कारण सेप्टेम्बर महिनामा तोकिएका उडान गने हो भने मात्रै ११ करोड रुपैयाँभन्दा बढी घाटा व्यहोर्नु पर्छ।’
निगमले जापानको ओसाका उडान गर्नुको सट्टा नारितामा उडान गर्न सकेको भए सँधै फाइदामा जाने स्रोतको दाबी छ। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले समेत जापानको आसोका उडानमा आफूहरूलाई अहिले घाटा नै रहेको स्वीकार गर्छन्। तर, बाध्य भएर जापान उडान गर्न परेको उनको तर्क छ। ‘लामो दुरीको उडानका लागि भनेर वाइडबडी जहाज ल्याएको वर्ष दिन हुँदा समेत गन्तव्य विस्तार हुन सकेको थिएन,’ खरेलले भने, ‘हामीलाई ओसाका उडानमा आर्थिक रूपमा फाइदा छैन। हाम्रो लक्ष्य पनि नारिता नै हो।’
तर, खरेलले निगमको कार्यकारी अध्यक्ष भएर आएको वर्ष दिनसम्म कुनै काम देखाउन नसके पनि प्रधानमन्त्रीको इच्छाभन्दा पनि बाहिर गएर तामझामका साथ ओसाका उडान सुरु गरेको छ। उडान सुरु नहुँदै यात्रु नपाउने अवस्था आएपछि निगम व्यवस्थापनको सहयोगमा कन्ट्री म्यानेजर सन्तोष पाण्डेसँगको छलफलमा सातामा तीन उडान गर्ने गरी प्रचार गरे पनि २ वटा उडान मात्रै गर्ने तयारी गरेको स्रोत बताउँछ। कन्ट्री म्यानेजर पाण्डे पनि सेप्टेम्बर महिनाको उडानमा मात्रै निगमलाई ७ करोड रुपैयाँको घाटा हुने स्वीकार गर्छन्। तर, सेप्टेम्बर महिनाको घाटा अक्टोबर महिनादेखि 'रिकभर' हुँदै जाने उनको दाबी छ। तर, उनको दाबी नै पनि ओसाका उडानका हकमा सत्य नहुने निगम व्यस्थापनको भनाइ छ।
एक पाइलटका अनुसार काठमाडौं–ओसाका–काठमाडौं उडानमा इन्धनमा मात्रै एक करोड रुपैयाँ खर्च हुन्छ।
निगमले केही दिन अगाडि ओसाका उडानका बारेमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा ओसाका उडानको अपरेसन खर्च सार्वजनिक गर्न चाहेको थिएन। निगमले अपरेसन खर्च सार्वजनिक गर्न नचाहनुका पछाडि दीर्घकालसम्म पनि फाइदा हुने अवस्था नरहेको स्रोतको दाबी छ।
ओसाका उडानका लागि कन्ट्री म्यानेजरको जिम्मा पाएका पाण्डे पनि ओसाका उडानभन्दा नारिता उडान राम्रो हुने स्वीकार गर्छन्। नारिता उडान पाएपछि ओसाका उडान कम गर्नुपर्ने उनको समेत भनाइ छ।
एक पाइलटका अनुसार काठमाडौं–ओसाका–काठमाडौं उडानमा इन्धनमा मात्रै एक करोड रुपैयाँ खर्च हुन्छ। त्यसबाहेक पनि एउटै उडानमा ५० देखि ६० लाख खर्च हुने हुँदा काठमाडौं-ओसाका फुल अकुपेन्सी भएको अवस्थामा पनि फाइदाका लागि 'राउन्डफेयर' १ लाख रुपैयाँभन्दा बढी हुनुपर्ने उनको भनाइ छ।
तर, निगमले अहिले ७२ हजार रुपैयाँमा दुईतर्फी उडान एक महिनासम्म गर्दाको घाटा रिकभर गर्न अर्को ४ महिना लाग्ने एक पाइलटले जानकारी दिए।
यसरी ओसाका उडान गरेको निगमको कार्यसम्पादनमा प्रधानमन्त्री ओलीसमेत खुसी छैनन्। प्रधानमन्त्री ओलीले निगमकै ६१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दा नै किन कसका लागि ओसाका उडान गर्न लागेको प्रश्न गरेका थिए। तर, निगमले प्रधानमन्त्रीले गरेको प्रश्नको जवाफ आजसम्म दिन सकेको छैन। तर, ओसाका उडान भने सुरु गरेको छ।
नेपाल एयरलाइन्सले १३ वर्षसम्म चलेको उडान सन् २००७ मा बन्द गरेको थियो। काठमाडौं-सांघाई-ओसाका-सांघाई-काठमाडौं (कन्साई अन्तर्राष्ट्रिय विमानस्थल)मा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो। त्यसपछि नेपालको जापानसँग प्रत्यक्ष हवाइ सम्पर्क थिएन।
अहिले फेरि नेपाल एयरलाइन्सले हप्तामा ३ पटक ओसाका उडान तालिका अनुसार उडान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।