सिओल- उत्तर कोरियाली सरकारी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल र केही खेलाडी शुक्रबार दक्षिण कोरिया पुगेका छन्।
अर्को हप्ता दक्षिण कोरियामा आयोजना हुने शीतकालीन ओलम्पिक खेलकुदमा उत्तर कोरियाको तर्फबाट सहभागिताका लागि सो प्रतिनिधिमण्डल सोल पुगेको हो।
यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको चार वर्षको अन्तरालमा पहिलो पटक भएको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन्।
उत्तर कोरियाको एक प्रसिद्ध सांगीतिक समूह (मोराङ्बोङ ब्यान्ड)का प्रमुख होङ सोन उलको नेतृत्वको सात सदस्यीय एक समूह पनि उक्त प्रतिनिधिमण्डलमा रहेको बताइएको छ।

फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना हुने शीतकालीन ओलम्पिकमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारी पठाउने सहमति यस अघि नै भएकाे थियाे।
उक्त सहमतिमा २२ जना एथलेट्स र अन्य खेलकूद अधिकारीसमेत उत्तरले दक्षिण पठाउने उल्लेख छ। ती खेलाडीको नामावली र उनीहरुले खेल्ने खेलको बारेमा ओलम्पिक कमिटीले यसअघि नै अनुमोदन गरेर दक्षिण कोरिया पठाइसकेकाे छ।
ओलम्पिकको उद्घाटन सत्रमा उत्तर र दक्षिण कोरियाले संयुक्त झण्डामुनि मार्च पास गर्नेछन्। सोही बमोजिम दक्षिण कोरियामा उत्तरको झण्डा पनि फहराइसकिएको छ।
विगत लामो समयदेखि तनावपूर्ण स्थितीबाट गुज्रिएको कोरियाली प्रायद्धिपको वातावरण थप सौहार्द बनाउन यस खेलकूदले महत्वपूर्ण भूमिका निभाउने आकलन गरिएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।