टेक्सास- अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले चिनियाँ लगानीको अहिलेको मोडेलले ल्याटिन अमेरिका वा अमेरिकाका लागि राम्रो नगर्ने बताएका छन्।
ल्याटिन अमेरिकी देशको भ्रमण शुरु गर्नुअघि बिहिबार टेक्सास विश्वविद्यालयमा आफ्नो धारणा राख्दै टिलर्सनले ल्याटिन अमेरिकी देशमा चीन र रूसको बढ्दो उपस्थितिले खतरा उत्पन्न गर्नसक्ने दावि गरे।
पहिलो मुलुकको रुपमा उनले हिजो मेक्सिकोको भ्रमण थालेका छन्। मेक्सिको प्रस्थान गर्नुअघि उनले टेक्सास विश्वविद्यालयमा आफ्नो भ्रमणका साथै अमेरिकी विदेश नीतिका बारेमा समेत जानकारी दिएका थिए।
सम्बोधनका क्रममा उनले अमेरिकाले आफ्नो विदेश नीतिमा सुधार ल्याउन र आर्थिक विकासका लागि ट्रम्प प्रशासनले काम गरिरहेको बताए।
अमेरिकाले भेनेजुएला र क्यूबामा प्रजातन्त्रको स्थापनाका लागि आवश्यक स्वतन्त्र र निश्पक्ष चुनाव गराउन दबाब दिइरहने टिलर्सनको भनाइ छ।
उनले सबै ल्याटिन अमेरिकी देशहरुलाई रूस वा चीनसँग भन्दा पनि अमेरिकासँग काम गर्न आह्वान गरे।
पछिल्लो समयमा चीन र रूसले ल्याटिन अमेरिकामा आफ्नो उपस्थिति दह्रो बनाउँदै लगेका छन्। उनीहरुले केही क्षेत्रमा लगानी पनि गरेका छन्।
टिलर्सनले रूसले कतिपय निरंकुश शासन सञ्चालन गर्दै आएका देशमा हात हतियार बेचेको आरोप पनि विदेशमन्त्री टिलर्सनले लगाएका थिए।
उनले ल्याटिन अमेरिकी देशमा पछिल्लो समयमा रुसको उपस्थिति र चासो बढ्दै जानुलाई खतराको संकेतको रुपमासमेत टिप्पणी गरेका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।