लहान– सिरहाको कल्याणपुर नगरपालिकाका तीन वटा वडामा भोजपुरी भाषाका अश्लील गीतमा प्रतिबन्ध लगाइएको छ।
वडा नम्बर ४, ५ र ६ का अध्यक्षहरुसहितको सर्वपक्षीय भेलाले साबिकका विष्णुपुर, चिकना र भोक्राहा गाविसलाई लक्षित गरी यस्तो निर्णय गरेको ५ नम्बर वडाका अध्यक्ष दिपेन्द्र यादवले बताए। निर्णय विपरीत अश्लील गीत बजाए ५ हजार जरिवाना गर्ने निर्णय भएको छ।
भेलाले तीन वटै वडामा मदिरा बिक्री–वितरणमा पनि रोक लगाएको छ। जाँड–रक्सी सेवन तथा भोजपुरी भाषाका अश्लील गीतहरुका कारण समाजमा विकृति विसंगति बढेको, होहल्ला र झै–झगडा हुने गरेकाले समाजमा अमनचैनका लागि यस्तो निर्णय गरिएको जनाइएको छ।
‘माघ मसान्तपछि मदिरा बिक्री–वितरण नगर्न भनेका छौं’, वडा नम्बर ६ का अध्यक्ष मोतिवुल राइनले भने, ‘फागुन १ बाट पसलहरुमा मदिरा पाइएमा कारबाही हुन्छ।’
निर्णयको बेवास्ता गरेर मदिरा बिक्री–वितरण गरे पसलेलाई ५ हजार र प्रयोगकर्तालाई २ हजार जरिवाना गरिने उनले बताए।
भेलाले १६ वर्षमुनिका युवायुवतीलाई मोबाइल र मोटरसाइकल प्रयोग गर्न पनि रोक लगाएको छ। निश्चित उमेरका युवायुवती तथा बालबालिकाले मोबाइल र मोटरसाइकल प्रयोग गरेको पाइए पहिलो पटक ५ सय जरिवाना गर्ने निर्णय गरिएको वडा अध्यक्षहरुले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।