दक्षिण अफ्रिका- विद्युत सेवा अवरुद्ध भएपछि दक्षिण अफ्रिकाको एक सुनखानीमा फसिरहेका ९ सय ५५ कामदारलाई उद्दार गर्ने कार्य सुरु गरिएको छ। खानी संचालक कम्पनीका प्रवक्ता जेम्स वेल्सटेडले आज बिहान खानीमा पुनः विद्युत आपुर्ति गरिएपछि उद्दार कार्य सुरु गरिएको बताए।
सुनखानीमा बुधबार रातीदेखि कामदारहरु फसेका हुन्।
दक्षिण अफ्रिका धेरै सुन उत्पादन गर्ने राष्ट्र भएपनि सुनखानीमा अपनाइने सुरक्षामाथि भने यहाँ बारम्बार प्रश्न उठ्ने गरेको छ।
कामदार फसिरहेको बेट्रिक्स सुनखानी जोहन्सबर्गबाट २ सय ९० किमी दक्षिण पश्चिममा रहेको वेलकोम शहरमा पर्दछ। जसलाई सिवानी–स्टिलवाटर माइनीङ फर्मले संचालनमा ल्याएको हो। करिव १ किमी गहिरो खानीमा २३ वटा तलाहरु छन्।
उद्दार गरिएका कामदारहरुले बाहिर निस्कएपछि स्वास्थ्य परिक्षण गर्नु अगावै नुहाउन र केहि खान खोज्ने सम्भावना रहेको उद्दारकर्ताहरुले जनाएका छन्।

एएफपीका अनुसार गएराति देखि नै खानीस्थलमा एम्बुलेन्स तयार अवस्थामा राखिएको छ।
प्रवक्ता वेल्सटेडले भने,‘अहिलेसम्म कोहि पनि कामदार समस्यामा रहेको भन्ने खबर प्राप्त भएको छैन। तर कामदार तथा तीनका आफन्तहरुसँग भने हामी लगातार सम्पर्कमा रहने कोशिष गरिरहेका छौँ।’ उनका अनुसार बिहिबार भने खानीभित्र खाना र पानी पठाइएको थियो।
हावाहुरीका कारण खानी क्षेत्रको विद्युत वितरणमा गडबडी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनापछि सरकारी मजदुर युनियनले खानीमा रहेका मजदुर असुरक्षित रहेको भन्दै चिन्ता प्रकट गरेको छ।
सन् २०१७ मा मात्रै दक्षिण अफ्रिकामा खानी सम्बन्धि ८० भन्दा बढि दुर्घटना भएको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।