नयाँ दिल्ली (एजेन्सी)– भारतमा अब राष्ट्रपतिको मासिक तलब ५ लाख भारु हुने भएको छ। अर्थमन्त्री अरुण जेटलीले विहिबार सार्वजनिक गरेको २०१८ को बजेटमा राष्ट्रपतिको मासिक तलब २ सय प्रतिशत बढाउने सिफारिस गरेका हुन्।
सरकारले प्रस्ताव गरेको तलब यही बजेट सत्रबाट पास भएमा राष्ट्रपतिको तलब मासिक ५ लाख हुनेछ। प्रस्ताव पास भएमा उपराष्ट्रपतिको तलब ४ लाख हुनेछ। यस्तै, राज्यका राज्यपालहरूको मासिक तलब ३ लाख ५० हजार हुनेछ।
अहिले भारतीय राष्ट्रपतिको मासिक तलब १ लाख ५० हजार छ। उपराष्ट्रपतिले १ लाख २५ हजार बुझ्दै आइरहेका छन्। राज्यपालको तलब १ लाख १० हजार छ। राष्ट्रपतिको तलब ५ लाख पुर्याउने पहिलो प्रस्ताव २०१६ मा भएको थियो।
यो बजेट सत्रले सरकारी प्रस्ताव पास गरेको खण्डमा यही वर्षको फेब्रुअरीदेखि राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालहरूले बढेको तलब पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।