बेइजिङ- चीनको वाणिज्य मन्त्रालयले अमेरिकालाई व्यापारिक विषयलाई ‘राजनीतिकरण’ नगर्न बिहीबार आग्रह गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार देशवासीका नाममा सम्बोधन गर्दै रुस र चीनलाई पनि उनीहरूले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यतालाई चुनौती दिइरहेको आरोप लगाएकोप्रति लक्षित गर्दै चीनको पछिल्लो प्रतिक्रिया आएको हो।
‘व्यापार क्षेत्रमा हामीले संयुक्त राज्य अमेरिकालाई सहयोगीका रूपमा देख्ने गरेका छौँ,’ मन्त्रालयका प्रवक्ता गाओ फेङले पत्रकार सम्मेलनमा भने। उनले अमेरिकाले शीतयुद्धकालीन मानसिकतालाई त्याग्नुपर्ने र दुई पक्षबीचको व्यापार सम्बन्धलाई प्रोत्साहित गर्दै सही दिशामा अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिए।
ट्रम्पले न्यायपूर्ण तथा पारस्पारिक व्यापार सम्बन्धबारे गरेको सम्बोधनको प्रतिक्रियामा मन्त्रालयका प्रवक्ता गाओले भने,‘व्यापारिक सम्बन्ध एकतर्फी मापदण्डमा नभइ अन्तर्राष्ट्रिय नियम कानूनको आधारमा हुनुपर्छ।’
गाओले चीन र अमेरिका एक अर्काबीच महत्वपूर्ण व्यापारिक सहयोगी तथा लगानीकर्ता भएकोले दुबै मुलुकको हितमा हुनेगरी काम गर्नुपर्नेमा जोड दिए।
सन् २०१७ सम्ममा चीन अमेरिका व्यापार कारोबार ५ सय ८० अर्ब अमेरिकी डलर बराबर पुगिसकेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।