बेइजिङ- चीनमा प्राकृतिक प्रकोपमा परी सन् २०१७ भरिमा ८ सय ८१ जनाको मृत्यु भएको छ। विभिन्न समयमा भएका ती घटनाहरुमा हालसम्म ९८ जना बेपत्ता रहेको बताइएको छ।
बाढी पहिरो, आँधी, सुख्खा, अनावृष्टी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण उनीहरुको मृत्यु भएको चीनको नागरिक मामिला मन्त्रालयले बिहीबार जनाएको छ।
मन्त्रालयले वेभसाइटमा प्रकाशित गरेको जानकारी अनुसार प्राकृतिक प्रकोपबाट करिव १४ करोड नागरिक प्रभावित भएका छन्। प्राकृतिक प्रकोपका कारण ५२ लाख ५० हजार नागरिक विस्थापित भएका थिए भने १७ लाख चिनियाँलाई आपतकालिन सहयोगको खाँचो परेको थियो।
विभिन्न समयमा गरि घटेका प्रकोपहरुमा ३ लाख १२ हजार घर नष्ट भएको तथा झण्डै १ लाख ५३ हजार घरमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। विगत पाँच वर्षको तुलनामा सन् २०१७ कम दुखदायी रहेको मन्त्रालयको भनाइ छ।
प्राकृतिक प्रकोपले कृषि क्षेत्रलाई बढी प्रभावित गरायो भने अर्थतन्त्रमा २० प्रतिशतसम्म क्षति पुगेको देखिएको छ। प्राकृतिक प्रकोपका कारणले घरहरूमा सन् २०१७ मा अघिल्ला पाँच बर्षको औषत क्षति भन्दा ६० प्रतिशत कम क्षति भएको छ।
त्यसैगरी मानिसहरु प्रभावित हुने, मृत्यु हुने, घाइते हुने, विस्थापित हुनेहरुको संख्या पनि अघिल्ला पाँच बर्षको तुलनामा सन् २०१७ मा ४० प्रतिशत कम भएको मन्त्रालयको वक्तव्यमा उल्लेख छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।