काठमाडौं- वाम गठबन्धनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधार हुने अपेक्षा रहेको प्रतिक्रिया दिएको छ।
भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भएको दुवै दलका शीर्ष नेता सम्मिलित वाम एकता संयोजन समितिको बैठकमा यस्तो साझा धारणा तय भएको हो।
बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै एमाले नेता सुवास नेम्वाङले स्वराज विदेशमन्त्रीभन्दा पनि एउटा राजनीतिक दलको नेताका रुपमा नेपाल भ्रमणमा आएको रुपमा गठबन्धनले हेरेको बताए।
पार्टी एकताका लागि खाका कोर्ने भन्दै बसेको एकता संयोजन समितिको बैठकले यसअघि प्रदेशसभाको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबन्डालाई अनुमोदन मात्र गरेको छ।
पार्टी एकताका लागि अर्को बैठकमा थप छलफल गर्ने भन्दै बैठक कुनै निर्णयबिना टुंगिएको एमाले नेता नेम्वाङले बताए। भारतीय विदेशमन्त्री स्वराजलाई आजै साँझ एमाले अध्यक्ष ओलीले रात्रिभोज आयोजना गर्ने कार्यक्रम तय भएकाले बैठक लामो समय बस्ने नसकेको हो।
एकीकृत पार्टीको नेतृत्व लगायतको विषयमा कुरा नमिल्दा पार्टी एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन। नेतृत्वको विषयमा कुरा नमिलेकै कारण एकता संयोजन समितिले गठन गर्ने भनिएको सांगठनिक र वैचारिक विषय मिलाउने कार्यदल बन्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।