काठमाडौं– दुईदिने नेपाल भ्रमणका आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफू कुनै एजेन्डा बोकेर नेपाल नआएको बताएकी छिन्।
भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै आफू दुई देशबीच भातृत्व विकासको लागि आएको जानकारी दिइन्।

पहिलो दिन आज उनले दुई महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने भएकी छिन्। भ्रमणको पहिलो दिन साँझ ६ बजे एमाले अध्यक्ष केपी ओली सहितका पार्टी पदाधिकारी र साँझ ८ बजे राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ।
नयाँ सरकार गठनअगाडि भारतीय पक्षबाट भएको उच्चस्तरको भ्रमणलाई महत्वका साथ हेरिएको छ।
स्वराज सहितको टोलीको सम्मानमा एमाले अध्यक्ष ओलीले होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका छन्। साँझ साढे ६ बजे सुरु हुने भेट वार्तामा ओलीसहित एमालेका पदाधिकारी सहितको टोलीको स्वराजसंग संयुक्त छलफल गर्ने एमाले अध्यक्षको निजी सचिवालयले जनाएको छ।
ओलीसँगको भेटलगत्तै सोही होटलमा स्वराजले राजपा नेपालका अध्यक्ष मण्डललाई भेटका लागि समय दिएकी छिन्। स्वराजसँगको भेटमा राजपा अध्यक्ष मण्डलका सबै नेता सहभागी हुने राजपा स्रोतले जनाएको छ। संविधान संशोधनको माग गर्दै लामो समययता मधेसकेन्द्रित दल आन्दोलित छन्। ती दलको मागप्रति भारतले समेत समर्थन जनाउँदै आएको छ।
स्वराजले भोलि बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम छ। लगत्तै स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्नेछिन्।
उनी भोलि अपराह्न ४ बजे दिल्ली फर्कने कार्यक्रम रहेको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।