काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्समार्फत गरिएको मन्त्रिपरिषद् बैठकप्रति आपत्ति जनाएको छ।
मन्त्रिपरिषद्को बैठक विदेशबाट बसाउने परिपाटीले गलत नजिरको विकास हुने भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत आपत्ति जनाएका छन्। ‘कार्यसम्पादन नियमावली संशोधन गरेर आज कार्यपालिकाको बैठक विदेशबाट चलाइएको नजिर आधार मानेर भोलि सभामुखले संसद् र प्रधानन्यायाधीशले अदालत विदेशबाटै चलाउन कर्म गरे देशलाई त्यो पाच्य होला?,' उनले सरकारलाई प्रश्न गरेका छन्।
सरकार कम्युनिस्ट पार्टीले बनाए पनि उनले सबै नेपालीको सरकार भएको जनाएका छन्।
शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै गलत परम्परा बस्ने गरी मन्त्रिपरिषद्को बैठक नगर्न सुझाएका छन्। उनी थप लेख्छन् ‘जनताले दिएको म्याण्डेडबमोजिम पूरा अवधि सरकार चलाउनुहोस्, तर विदेशबाट मन्त्रिपरिषद्को बैठक सञ्चालन गर्न मिल्ने गलत परम्परा नबसाउनुहोस्।’
सोमबार मन्त्रिपरिषद्को भिडियो कन्फ्रेन्समार्फत बसेको बैठकको 'विनम्र ढंगले गम्भीर विमति' रहेको शर्माले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।