काठमाडौं- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेकी नर्स अस्मिता कार्की बिना धरौटी रिहा भएकी छिन्।
जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले कार्कीलाई बिना धरौटीमा छाड्ने आदेश दिएको हो।
उनलाई सामान्य तारिकमा रिहा हुने आदेश दिएको हो। उनी शालिकरामकी प्रेमिका हुन्।
न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसँग ५ लाख, पत्रकार युवराज कँडेलसँग भने ३ लाख धरौटीमा माग गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मुलुकी फौजदारी संहिताको दफा १८५ अनुसार आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै लामिछाने, कँडेल र कार्कीलाई विपक्षी बनाउँदै आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला अदालत चितवनमा दायर गरेको थियो।
मुद्दा दायर गरिएसँगै आरोपीहरुको बयान र थुनछेक बहसपछि अदालतले आज यस्तो फैसला गरेको हो।
गत साउन २० गते चितवनको एक होटलमा पत्रकार पुडासैनी झुन्डिएको अवस्थामा फेला परेका थिए। उनले मर्नुअघि आफ्नो मोबाइलमा एक भिडियो बनाउँदै आत्महत्याको अवस्थासम्म र्पुयाउनुमा टिभी कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार कँडेल र नर्स कार्की जिम्मेवार रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।