काठमाडौं - विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणका खेल खेल्नुअघि नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियको लिग विजेता क्लब जोहोर दारुल टाजिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्दै छ।
मलेसियामा नेपाली समयअनुसार बेलुका साढे ६ बजे सुरु हुने खेलमा नेपाल ४-५-१ को फर्म्याटमा खेल्दैछ।
प्रशिक्षक योहान कालीनको नयाँ योजनामा गोलकिपरमा विकेश कुथु, डिफेन्समा सुमन अर्याल, देबेन्द्र तामाङ, अनन्त तामाङ र अजित भण्डारी रहेका छन्। यस्तै मिडफिल्डमा सुजल श्रेष्ठ, सन्तोष तामाङ, बिक्रम लामा, बिशाल राई र रवि पासवान साथै फरवार्डमा बिमल घर्ती मगर रहेका छन्।
यस्तै अतिरिक्त खेलाडीमा विशाल श्रेष्ठ, एलन न्यौपाने, निदेश राजभण्डारी, सरोज दाहाल, राजेन धिमाल, हेमन गुरुङ, तेज तामाङ, सुनिल बल, अन्जन बिष्ट, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र बिमल राना रहेका छन्।
नेपाली राष्ट्रिय टिमका कप्तान विराज महर्जन टिममा नपरेकाले साथै यसअघि उपकप्तानको जिम्मेवारीमा रहेका किरण चेमजोङ जापानमा र भरत खवास थाइल्याण्डमा रहेकाले नेपाली टिमको कप्तानी सुजल श्रेष्ठले गरेका छन्।
अब नेपालले आउँदो १९ मा कुवेतसँग विश्वकप छनोट अन्तर्गतको खेल खेल्नेछ।
यो पनि पढ्नुहोस् : सुजल भन्छन् - हरेक खेलाडी कप्तान हुन्
‘मैत्रीपूर्ण खेल खेल्न पाउनु राम्रो कुरा हो, मलेसियन क्लब हामीसँग खेल्न राजी भएकोमा हामी आभारी छौँ। यसले हामीलाई तयारीमा राम्रो अवसर मिल्नेछ’ नेपाली टोलीका प्रशिक्षक योहान कालीनले भनेका छन्, ‘कुवेतले पछिल्लो समय राम्रो नतिजा निकालिरहेको छ, उनीहरुले धेरै खेल खेलिरहेका छन्, हामी कहाँ छौँ भन्ने बुझ्न पनि धेरै खेल खेल्न आवश्यक नै छ।’

नेपाल र कुवेतबीच गएको मार्चमा भएको दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिएको थियो भने अर्कोमा नेपाल १-० ले पराजित भएको थियो।
विश्वकप छनोटमा कुवेतसँगको खेलपछि नेपालले चाइनिज ताइपेइसँग भदौ २४ गते चाइजिन ताइपेइमा नै खेल्नेछ। असोज २८ गते जोर्डनसँग जोर्डनमा नै खेल्नेछ। मंसिर ३ गते कुवेतसँग दशरथ रंगशालामा, चैत १३ गते चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्नेछ। आउँदो वर्ष जेठ २२ गते दशरथ रंगशालामा जोर्डनसँग खेल्नेछ।
यस्तै नेपालले अस्ट्रेलियासँगको पहिलो खेल अस्ट्रेलियाको मैदानमा असोज २३ गते र अस्ट्रेलियासँग दशरथ रंगशालामा चैत १८ गते खेल्नेछ।
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको थियो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।
दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।