काठमाडौँ, – राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्न आज एक टोली गठन गरी काम शुरू गरेको छ।
आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँ ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको सम्बन्धमा आयोगले आजै एक अनुसन्धान टोली गठन गरी काम शुरु गरेको उल्लेख छ।
आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनासँग सम्बन्धित उजुरीको दर्ता, छानबिन तथा तथ्य संकलन कार्यलाई प्रभावकारी बनाइ नागरिकलाई न्यायमा पहुँच पु¥याउन नेपाल प्रहरीलाई आग्रह गरेको छ।
यौनजन्य हिंसा तथा बलात्कारका घटनाको उजुरी दर्ता, छानबिन र तथ्य संकलनमा नेपाल प्रहरी गम्भीर र संवेदनशील नहुँदा पीडित न्यायबाट वञ्चित भएकोप्रति ध्यानाकर्षण भएको उल्लेख छ।
यस्ता घटनामा पीडितलाई कानूनबमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरेको छ । तर व्यवहारमा सामूहिक बलात्कारको घटनासमेतलाई सामाजिक वा पारिवारिक डर, धम्की र आर्थिक प्रलोभन देखाइ मेलमिलापमा टुंग्याउने गरेको पाइएको आयोगले जनाएको छ।
बलात्कार जस्तो गम्भीर प्रकृतिको मानव अधिकार उल्लंघनका घटनाको सम्बन्धमा नेपाल प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गर्ने, उजुरी दर्ता भए पनि घटनाको अनुसन्धान प्रभावकारी नहुने गरेको पाइएको छ।
नागरिकको मानव अधिकारको रक्षार्थ स्थापना भएका निकायबाटै यस्ता प्रकारका कार्य हुनु कदाचित उचित मान्न नसकिने र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानूनविपरीत भएको आयोगले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।