काठमाडौं- पूर्व राष्ट्रपति रामवरण यादवले संविधानसभाबाट संविधान जारी हुनु गौरवको विषय भएको भन्दै नेतृत्वमा रहेका दलहरूलाई कार्यान्वयनमा प्रतिबद्ध हुन आग्रह गरेका छन्।
संविधानसभाका सभासद् प्रेम बहादुर सिंहको ‘संविधान निर्माण घटना र अनुभूति’ पुस्तकको शनिबार राजधानीमा विमोचन गर्दै यादवले गौरवपूर्ण उपलब्धि रक्षाका लागि सबैले योगदान पुर्याउनुपर्ने धारणा राखेका हुन्।
संविधान २०६२/६३ को जनआन्दोलनको उपलब्धि मात्रै नभई ७ दशकदेखिको जनताको लगानीको प्रतिफल भएको बताउँदै उनले भने, 'नेपाल विभिन्न जातजाति धर्म र संस्कृतिसहितको विविधतायुक्त समाज भएका कारण संविधानले सबैको चाहाना र माग पूरा गर्न नसक्नु स्वभाविक हो।'
पूर्व राष्ट्रपति यादवले संविधान जारी गर्ने समयमा कैयौं अदृश्य दबाब पनि झेल्नुपरेको पनि उल्लेख गरेका छन्।
कार्यक्रममा तात्कालीन संविधानसभाका अध्यक्ष एवं नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङ्गले संविधानमा देखिएको असन्तुष्ठी सम्बोधन गर्नका लागि सरकारले प्रयास गरिरहेको स्पष्ट पारेका थिए।
'विश्वमा असन्तुष्टि नभएको कुन संविधान छ? हामी असन्तुष्ठीलाई सम्बोधन गर्नका लागि प्रयास गरिरहेका छौं। यस तर्फ हामी प्रयासरत रहनुपर्छ,' उनको भनाइ थियो।
संविधानमा असन्तुष्टि जनाएका र बहिष्कार गरेका दल पनि संविधान कार्यान्वयनको प्रक्रियामा समेटिनुलाई संविधान कार्यान्वयको सफलता भएको उनको टिप्पणी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।