टीकापुर (कैलाली)- समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले विभेदका लागि लड्नेहरु सत्तामा पुगे पनि विभेद जारी नै रहेको बताएका छन्।
कैलालीको टीकापुरमा आजदेखि जारी थरुहट/थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले अहिलेको संविधान असमावेशी र अन्यायपूर्ण रहेको बताए।
टीकापुर घटनापछि सामाजिक सद्भाव कायम गर्ने भनिए पनि अन्यायमा परेकाहरुले न्याय नपाएको उनको भनाइ थियो। 'सद्भाव कायम हुनुपर्छ तर अन्यायमा परेकाहरुले अब लडेरै अधिकार लिने हो,' उनले भने, 'यहाँका पीडित थारुहरुले आफ्नो हक अधिकार पाउनुपर्छ।'
नयाँ पत्रिका दैनिकको आजको शनिबारीय परिशिष्टांकमा प्रकाशित प्रधानमन्त्री केपी ओलीको संस्मरणप्रति पनि उनले टिप्पणी गरे। 'आफूले गोलघरमा भोगेको यातनाबारे लेख्ने प्रधानमन्त्रीले उस्तै यातना भोगिरहेका रेशम चौधरीबारे सोच्नुपर्छ कि पर्दैन?' उनको प्रश्न थियो।
यस्तै लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले अहिलेको संविधान न्याय दिने खालेको नभएको भन्दै अब थारूहरू चेतनशील भइसकेको र यो सिंहदरबारलाई चुनौती भएको बताए।
अर्का वक्ता पत्रकार तथा लेखक किशोर नेपालले भने, 'जबसम्म रेशम चौधरीको रिहाइ हुँदैन, तबसम्म टीकापुरको घाउ निको हुँदैन।'
टीकापुर घटनाले ४ वर्ष पूरा गरेको सम्झनामा कैलालीको टीकापुरमा ३ दिने थरूहट/थारूवान राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।