फाइल तस्बिर
काठमाडौं- कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश सरकारद्धारा निर्माण गरिएको पार्क उद्घाटन गर्दै कार्यबाहक प्रधानमन्त्री पोखरेलले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतीको विषय बनेको बताएका हुन्। मुलुकभर नै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको र त्यो प्रवृत्ति पार्टी भित्रै पनि देखिएको संकेत उनको थियो।
सार्वजनिक जग्गा उपभोग गर्न खोज्ने व्यक्तिको नाम भने उल्लेख नगरी उनले भने 'अहिले एउटा हाम्रो अगाडि चुनौती छ। सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने? हामीहरु भित्रै समस्या छन्। म तपाईंलाई तोकेर भन्न चाहन्नँ। हामी भित्रै समस्या छन्। सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्ति छन्। यो गलत चिज हो। यसको विरुद्ध जुध्नुपर्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो।'
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले क्षतिग्रस्त बनेका सम्पदाको पुननिर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन नगरबासीलाई आग्रह गरेका थिए। धरहरा पुनर्निर्माणको काम संघीय सरकारद्वारा पुननिर्माण प्राधिकरणले अघि बढाईसकेको तथा रानीपोखरी र काष्ठमण्डप पुननिर्माणको काम पनि धमाधम भईरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।