काठमाडौं– अवैधरुपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ परेकी सिविक अस्पतालकी सञ्चालक प्रतिभा पाण्डे अस्पताल भर्ना भएकी छिन्। उनी नर्भिक अस्पतालको आइसियुमा छिन्।
पक्राउ परेलगत्तै बिरामी भएको बहाना गरेर उनी अस्पताल भर्ना भएकी हुन्। हिरासत छल्नका लागि उनी अस्पताल भर्ना भएको प्रहरी स्रोत बताउँछ।
लैनचौरमा सञ्चालित पाण्डेको सिविक हस्पिटल एन्ड ट्राभल मेडिकल सेन्टरमा साराह एनी केम्प नाम गरेकी अस्ट्रेलियन चिकित्सक काम गर्दै आएकी थिइन्। मेडिकल काउन्सिलबाट अनुमति नै नलिई उनले नेपालमा चिकित्सा अभ्यास गर्दै आएको काउन्सिलले जनाएको छ। उनलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।
मेडिकल काउन्सिल र सिआइबीले सोमबार राजधानीका ५ अस्पतालमा छापा हानी अवैध रुपमा कार्यरत विदेशी चिकित्सक र ती अस्पतालका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको थियो।
सिविककी सञ्चालक पाण्डे र चिकित्सक केम्पलाई ठगी मुद्दामा ७ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले बुधबार म्याद दिएको छ।
ब्रिटिस स्कुलको बोर्ड सदस्य समेत रहेकी पाण्डेले आफूलाई बिनाकारण पक्राउ गरिएको दाबी गरेकी छिन्। तर, उनले अवैध रुपमा विदेशी चिकित्सकलाई काम लगाउँदै आएको काउन्सिलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।