चितवन- भूकम्पले घर भत्काए पनि लगत संकलनमा आफ्नो नाम छुटेको भन्दै पाँच हजार ७२४ जनाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालयमा निवेदन दिएका छन्।
भरतपुर महानगरपालिकाबाट ३ सय ६४ वटा र रत्ननगर नगरपालिकाबाट ९ सय ८७ निवेदन प्राप्त भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए।
यस्तै, खैरहनी नगरपालिकाबाट ५ सय २७, राप्ती नगरपालिकाबाट ९ सय २२, माडी नगरपालिकाबाट १५, कालिका नगरपालिकाबाट एक हजार ७ सय ८० र इच्छाकामना गाउँपालिकाबाट एक हजार १ सय २९ जनाले निवेदन दर्ता गराएको कार्यालयका प्रमुख कार्कीले बताए। उनका अनुसार उजुरी आउने क्रम जारी छ।
दुई वर्षअघिको भूकम्पका कारण चितवनमा सात हजार ३ सय ३५ घरपरिवारको भौतिक संरचनामा क्षति भएको तथ्यांक उतारिएको थियो। सो तथ्यांक लिँदा आफूहरु छुटेको भन्दै उनीहरुले पुनर्निर्माण र मर्मतका लागि निवेदन दर्ता गराएका हुन्। छुटेकाको संख्या पनि झन्डै सात हजार हाराहारी पुग्ने अनुमान गरिएको कार्यालय प्रमुख कार्कीले बताए।
छुटेका निवेदन संकलन गरी केन्द्रमा पठाइएको र केन्द्रको निर्णयअनुसार नै अगाडिको प्रक्रिया थालिने कार्कीले उल्लेख गरे।
सुरुमा निवेदन दिएका र प्रमाणित भएकामध्ये पाँच हजार ३ सय २३ जनाले पहिलो किस्ताको रकम लिइसकेका छन्। दोस्रो किस्ताका लागि १ सय ९१ घरपरिवारले निवेदन दिएका छन्। उनीहरुको निवेदनमाथि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट प्रक्रिया अघि बढिसकेको छ। तीमध्ये पनि १३ जनाले अन्तिम किस्ताका लागिसमेत निवेदन दिएको कार्यालयका प्रमुख झपटबहादुर थापाले जानकारी दिए।
पहिलो किस्तामा ५० हजार रुपैयाँ, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख रुपैयाँ दिने व्यवस्था छ।
मर्मतका लागि भने ३ सय ५९ घरले ५० हजार रुपैयाँ लगिसकेका छन्। मर्मत गर्नुपर्ने घर ५ सय ९३ छन्। उनीहरुले मर्मतका लागि एक लाख रुपैयाँसम्म पाउने व्यवस्था छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।