बुटवल- धार्मिक कार्यमा मात्र सुनिने शंखध्वनि बुटवलको सिद्धेश्वरी मन्दिरमा आज एकैपटक निरन्तर गुञ्जियो। बिहानको समयमा मात्र सुन्न पाइने शंखध्वनि दिउँसो अबेरसम्म गुञ्जिएको थियो।
'संस्कार र संस्कृति बचाऔं, रोग र वास्तु दोष हटाऔं' भन्ने नाराका साथ लुम्बिनी ज्योतिष तथा वास्तु सेवा केन्द्र र लुम्बिनी पूजा सामग्री भण्डारले एकैपटक शंखध्वनि फुक्ने अवसर जुटाएका हुन्।
रुपन्देही जिल्लामै पहिलो पटक शंखध्वनि प्रतियोगिता भएको हो। पश्चिमी संस्कृतिको प्रभावका कारण लोप हुने अवस्थामा शंखध्वनि पुगेकाले त्यसको जगेर्ना र प्रवर्द्धनका लागि प्रतियोगिता नै गराइएको आयोजक लुम्बिनी ज्योतिष तथा वास्तु सेवा केन्द्रका सञ्चालक एवं धार्मिक अभियन्ता जनार्दन न्यौपानेले बताए।
'हिन्दु धर्ममा शंखको महत्व भएकाले पनि यसको संरक्षण गर्न जरुरी छ,' उनले भने, 'यसको ध्वनिले कण्ठमाला, मिर्गी जस्ता रोगीलाई प्रत्यक्ष फाइदा पुर्याउनुका साथै रोगबाट मुक्त बनाउन मद्दत पुग्ने धार्मिक विश्वास छ।'
दिनदिनै शंख बजाउने व्यक्तिको श्वासप्रश्वास प्रणालीमा फाइदा पुग्ने अर्का धार्मिक अभियन्ता भीमकान्त पन्थीले बताए।
चितवन, नवलपरासी, कपिलवस्तु र रुपन्देहीका ३ महिलासहित ४७ जनाले शंख फुकेका थिए। प्रतियोगितामा चितवनका गणेशप्रसाद भट्टराई प्रथम, नवलपरासीका कृष्णप्रसाद अर्याल द्वितीय, बुटवलका बलराम लम्साल तृतीय भए भने तिलोत्तमाका कृष्णप्रसाद न्यौपाने र बुटवलका दीपेन्द्र गौतमले सान्त्वना पुरस्कार पाए। उनीहरुले क्रमश: नगद ५१ सय, २१ सय, ११ सय र ५ सय र शंख प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।