काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ सरकारप्रति पुनः आक्रोश व्यक्त गरेका छन्।
उनले मधेसको जनताले गरेको त्याग र बलिदान अनुसारको प्रतिफल नपाएको पनि बताए।
'अहिले प्रदेश २ मा जुन सरकार बनेको छ, यसले तपाईंहरुको निम्ति के कति राम्रो काम गर्यो? के यहाँ सुशासन सुरु भयो? यहाँ विकासले गति लिन थाल्यो त? यहाँ भ्रष्टाचार रोकिन थाल्यो त? यहाँ जनतालाई दुःख पीरमर्का पर्दा सरकार तुरुन्तै आएर सहयोग गर्न थाल्यो त? मैले बुझेसम्म त्यस्तो भएको छैन', सोमबार धनुषामा रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले भने।
प्रचण्डले प्रदेश २ मा भ्रष्टाचार अझ बढेको सुनेको बताए। 'तलैसम्म सुशासन छैन र जनतालाई झन् दुःख भएको छ भन्ने सुनिएको छ', उनले थपे, 'के हामी यस्तै कुराको निम्ति लडेको हो त? विल्कुल होइन।'
प्रचण्डले गत बैशाख १७ गते मधेस तराई फोरमका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै मधेसमा सरकार जसरी चलेको छ, त्यो मधेसी जनताको हितमा नभएको बताएका थिए। 'मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन। त्यो मधेसी जनताको हित अनुकूल चलेको छैन', उनले भनेका थिए।
सो सम्बोधनमा उनले प्रदेश २ को सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार परिवर्तनको संकेत पनि गरेका थिए।
'अहिले त योजना निर्माणमा व्यक्ति व्यक्तिको फोन नम्बर समेत रेडबुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो। यही स्थिति हो भने हामीले बीचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउनसक्छ', उनले भनेका थिए।
आजको सम्बोधनमा उनले आफूले क्रान्ति, युद्ध र जनयुद्धको पहिलो तालिम लिएको ठाउँ पनि मधेस (धनुषा) नै भएको बताए। 'तपाईंहरुकै बीचबाट कसरी विद्रोह गर्ने, कसरी युद्ध हाँक्ने भन्ने सिकेको हो', उनले भने।
उनले मधेससँगको आफ्नो प्रेम नटुट्ने बताए।
'मैले विद्रोहको सुरुवात तपाईंहरुको बीचबाट नै गरें। सिरहा जिल्लाबाट चुनाव जितें। सांसद भएर दोस्रोपटक प्रधानमन्त्री पनि भएँ। मैले भन्ने गरेको छु, तराई मधेसप्रति कुनै न कुनै रुपले मेरो लभ छ, म यो लभ तोड्न सक्दिनँ भनेको थिएँ। आज पनि तपाईंहरुलाई भन्छु, तपाईंहरुसँगको प्रेम टुट्ने छैन', उनले भने। (फाइल तस्बिर)
यो पनि पढ्नुहोस्– प्रदेश २ मा सरकार परिवर्तन गर्ने प्रचण्डको संकेत
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।