काठमाडौं- वाम गठबन्धनबाट राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर ३ बाट उम्मेदवारी दिएका बेदुराम भुसालको उम्मेदवारी फिर्ता हुने भएको छ।
प्रदेश ३ बाट खुल्लातर्फ दुई सिट मात्र जित्न सकिने अवस्थामा वाम गठबन्धनले एमालेका भुसालको उम्मेदवारी फिर्ता लिने भएको हो। प्रदेश ३ मा खुल्लातर्फ एमालेबाट भुसालसहित बलराम बासकोटा र माओवादीबाट रामबहादुर थापा बादलले समेत मनोनयन दर्ता गराएका थिए। अन्य साना दलसँग मिलेर खुल्लातर्फ ३ सिट जित्ने दाबीसहित वाम गठबन्धनले भुसाललाई अघि सारेको थियो।
साना दलहरुले कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई समर्थन गर्ने निर्णय लिएपछि वाम गठबन्धनले आफ्ना एक उम्मेदवारलाई पछाडि सार्ने निर्णय गरेको हो।
‘३ नम्बर प्रदेशमा २ जना खुल्लामात्र जित्न सकिने अवस्था बन्यो,’ वाम गठबन्धनका कार्यदल सदस्य मातृका यादवले नेपाल लाइभसँग भने, ‘३ जना उम्मेदवार हुँदा भएका सिट समेत गुमाउन सक्ने देखिएकाले भुसालको उम्मेदवारी फिर्ता लिने निर्णय भएको छ।’
निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि आज दिउँसोसम्मको समय दिएको छ। आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिह्न प्रदान गर्ने आयोगको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।