काठमाडौं– सरकारी लगानीसमेत रहेको बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) फर्दर पब्लिक शेयर अफरिङ (एफपिओ) को बिक्री खुल्ला गरेको छ। कम्पनीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपिओ जारी गरेको हो।
बुटवल पावरले एक सय रुपैयाँ फेस भ्यालुमा ४०१ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ५०१ रुपैयाँमा एफपिओ बिक्री गरेको हो। कम्पनीको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।
कम्पनीले जारी गर्न लागेको एफपिओमा छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ। एफपिओमा न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बिपिसीले जनाएको छ।
कम्पनीको एफपिओलाई इक्रा नेपालले ग्रेड थ्री रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको अवस्था औसत रहेको संकेत गर्छ।
एफपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ। कम्पनीमा सरकारको १० प्रतिशत स्वामित्व रहेको छ।
कम्पनीले ४ मेगावाटको खुदी, ९ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। आउँदो ४ वर्षमा बिपिसीको जडित क्षमता ९५ मेगावाट पुग्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।