नयाँ दिल्ली- भारतको पश्चिमी राज्य महाराष्ट्रमा भएको एक सडक दुर्घटनामा परी १३ जना यात्रुको मृत्यु भएको छ। बस नदीमा खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।
दुर्घटनामा परी अन्य ३ घाइते भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । महाराष्ट्र प्रान्तीय राजधानी मुम्बईबाट ३ सय ७६ किलोमिटर दक्षिणतर्फ पर्ने कोल्हापुरमा रहेको पञ्चगंगा नदीमा शुक्रबार अबेर राति मिनीबस खसेको बताइएको छ ।
'गएराति एउटा मिनीबस पञ्चगंगा नदीमा खसेर भएको दुःखद दुर्घटनामा परी १३ को मृत्यु भएको छ भने अरु तीनजना घाइते भएका छन्',कोल्हापुर प्रहरी कार्यालयका एक अधिकारीले भने। उनले थपे,'शिभजी पुलमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।'
गान्पातीपुलेबाट पुणे जाँदै गरेको मिनीबस स्थानीय समयानुसार शुक्रबार राति ११ः४५ बजे दुर्घटनामा परेको प्रहरीले बताएको छ । घटना भएको थाहा पाउनेबित्तिकै प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो भने थप अनुसन्धान पनि गरिरहेको छ । घटनामा मृत्यु हुनेहरु अधिकांश स्थानीय बासिन्दा भएको प्रहरीले जनाएको छ ।
भारतमा विशेष गरेर यात्रुहरुको अत्यधिक चाप, सडकको खराब अवस्था र चालकको लापर्बाहीका कारण दुर्घटना हुने गरेको पाइएको छ ।
हालै सार्वजनिक भएको आधिकारिक सरकारी तथ्यांकअनुसार सन् २०१६ मा भारतमा सडक दुर्घटनाका कारण दैनिक ४ सयभन्दा बढीको मृत्यु भएको छ । भारत विश्वमा बढी सडक दुर्घटना हुने देशमा पर्छ । रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।