काठमाडौं- प्रादेशिक सरकारको भागबन्डाबारे निर्णय गर्न वाम गठबन्धनको कार्यदल बैठक सुरु भएको छ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सुरु भएको कार्यदल बैठक बसेको हो।
प्रदेश सरकार र राष्ट्रियसभा निर्वाचनका लागि वाम गठबन्धनले गठन गरेको कार्यदलले यसअघि सहमतिमै राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँट गरेको थियो।
कार्यदलले यसअघि प्रादेशिक सरकारको मन्त्रिमण्डल प्रदेशसभाको जम्मा संख्याको १० प्रतिशतको आकारमा बनाउने सहमति गरेको थियो। सो सहमति अनुसार प्रदेशको मन्त्रिमण्डलमा बढीमा ७ सदस्यीय हुनेछ।
कार्यदलको आजको बैठकले २ नम्बर प्रदेश बाहेकको प्रदेशमा मुख्यमन्त्रीको बाँडफाँट गर्ने तयारी गरेको छ। शीर्ष नेताले दिएको निर्देशन र मापदण्डमा आधारित रहेका कार्यदलले मुख्यमन्त्रीहरुको भागबन्डा गर्नेछ। स्रोतका अनुसार, प्रदेश नम्बर १ र ३ नम्बरमा बहुमत प्राप्त गरेको एमालेले माओवादी केन्द्रसँग मिलेर सरकार गठन गर्नेछ। त्यस्तै, प्रदेश नम्बर ५ मा एमाले सचिव शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने समझदारी यसअघि नै शीर्ष नेताबीच भइसकेको छ।
एमालेसँग चुनावी गठबन्धन गरेर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेको माओवादी केन्द्रले भागबन्डा अनुसार २ वटा प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गर्नेछ। स्रोतका अनुसार, प्रदेश ६ र ७ को प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्नेछ। प्रदेश ४ को नेतृत्व एमालेलाई दिने समझदारी शीर्ष नेताबीच भएको छ।
एमालेले प्रदेश सरकारको नेतृत्व गरेको प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रले दाबी गरेको छ। आफूले नेतृत्व गर्ने ६ र ७ नम्बर प्रदेशको सभामुख पद लिन माओवादी केन्द्रले एमालेलाई प्रस्ताव गरेको छ। एमाले भने बढीमा २ प्रदेशको सभामुख माओवादी केन्द्रलाई दिन सकिने बताउँदै आएको छ। सोही बाँडफाँटको विषयलाई आज बस्ने कार्यदल बैठकले टुंगो लगाउनेछ।
शुक्रबार एमाले र माओवादीका शीर्ष नेताले प्रदेश सरकार गठनलाई टुंगोमा पुर्याउन कार्यदल सदस्यलाई निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।