बेइजिङ- चीन र जापानका विदेशमन्त्री बीच आइतबार बेइजिङमा भेटवार्ता भएको छ। चीनको भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनोले आफ्ना चीनीया समकक्षी वाङ्ग यीसँग भेट गरेका हुन्।
उनीहरुबीच चीन जापान द्विपक्षीय सम्बन्धका साथै आपसी हित र पछिल्लो समयमा यी दुई देशबीच बढ्दो सीमा विवादका कारण उत्पन्न परिस्थितिको समाधानका विषयमा छलफल केन्द्रित भएको बताइएको छ।
भेटका अवसरमा हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीच बढ्दो तनाव र आणविक अस्त्रको होडका कारण उत्पन्न परिस्थितिका बारेमा पनि कुराकानी भएको बताइएको छ।
दुई कोरियाको बीचमा आगामी महिना हुन लागेको शीतकालीन ओलम्पिक खेलका कारण सम्बन्धमा केही सुधार आएको बताइन्छ। उक्त सम्बन्धलाई थप सुदृढ गर्नका लागि आवश्यक कदम चाल्नुपर्नेमा चीन र जापानले के कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने बारेमा पनि उनीहरुबिच कुराकानी भएको जनाइएको छ।
उत्तर र दक्षिण कोरियाका साथै अन्य क्षेत्रीय मुद्दा र विश्व राजनीतिका बारेमा पनि उहाँहरुबीच छलफल भएको बताइएको छ।
विश्वको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्रका बीचमा भएको यो द्विपक्षीय भेटवार्तालाई महत्वका साथ हेरिएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।