काबुल- अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ। साथै विस्फोटमा परी १ सय ५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ।
काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थानलाई लक्षित गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइएको अफगान प्रहरीले जनाएको छ।घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्नेसमेत प्रहरीको अनुमान छ।

घाइतेको सङ्ख्या बढी भएकाले स्थानीय अस्पतालहरुमा उपचारमा समस्या भएको पनि उनीहरुले जानकारी दिएका छन्। एएफपीका संवाददाताले जामुरिते अस्पतालमा मृत्यु हुने र घाइते हुनेहरुको संख्या अत्यधिक देखेको बताएका छन्।
स्वास्थ्यकर्मीहरुले रक्तपातपूर्ण अवस्थामा रहेका घाइतेहरुलाई स्थान अभावको कारण अस्पतालको गल्लीमा समेत राखेर उपचार गरीरहेको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद माजरोहले भने, “अहिलेसम्म मृत्यु हुनेहरुको संख्या ९५ पुगेको छ, १ सय ५८ जना घाइते भएका छन्। यसअघि गृह मन्त्रालयले ६३ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।
काबुलको मध्य भागमा पर्ने सिदारात स्क्वायरमा स्थानीय समयानुसार दिउँसो करिब १२ः५० मा विस्फोट गराइएको अधिकारीहरुले बताएका छन् । विस्फोट भएको क्षेत्रमा गृह मन्त्रालयको पुरानो कार्यालय, युरोपेली संघलगायतका विभिन्न उच्च महत्वका संघसंस्था र कार्यालय रहेका छन्।
काबुलका लागि युरोपेली संघका प्रतिनिधिहरु सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको अधिकारीहरुलाई उदृत गर्दै एएफपीले लेखेको छ।

एम्बुलेन्स आक्रमणको तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ । घटनापछि सरकारी सुरक्षाकर्मीहरुले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर दोषीहरुको खोजी कार्य तीव्र पारेको जनाएका छन्।
काबुलमै रहेको एक होटलमा गत आइतबार तालिवान लडाकूहरुले आक्रमण गर्दा २२ जनाको मृत्यु भएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।