भियना : सिरियामा जारी हिंसाको शान्तिपूर्ण निकासका लागि भन्दै रुसले आयोजना गर्न लागेको शान्ति वार्ता सिरियाको मुख्य विपक्षी दलले अस्वीकार गरेको समाचार छ । भियनामा संयुक्त राष्ट्रसंघले पुनः आह्वान गरेको वार्ताको प्रयास लगभग असफल हुने देखिएपछि यसका लागि रुसले पनि पहलस्वरुप आगामी हप्ता वार्ताको आह्वान गरेको थियो ।
यस वार्ता प्रयासलाई राष्ट्रसंघले सिरियाका लागि गरिएको एक अन्तिम आशाका रुपमा लिएको जनाएको थियो । तर पनि भियनाबाट राष्ट्रसंघीय अधिकारीले जानकारी दिएअनुसार वार्ताले सकारात्मक मोड लिने अवस्था देखिएको छैन ।
भियनामा केही दिनयतादेखि सिरियाको विपक्षी समूह, राष्ट्रपति बसर अल असदका पक्षधरहरुका साथै राष्ट्रसंघीय अधिकारीहरुसँग वार्ता भएको थियो । तर शुक्रबार रातिको पछिल्लो चरणको सो वार्ता सकारात्मक नभएको समाचार बाहिर आएको छ ।
सिरियाली मुख्य विपक्षी दलको तर्फबाट वार्ताका लागि निर्माण भएको समूह, सिरियन नेगोसिएसन्स कमिसन(एसएनसी)का प्रमुखले आफ्नो ट्वीटर अकाउण्टमा आफुहरुले रुसले अर्को हप्ता गर्ने भनेको शान्तिवार्तामा बस्न अस्वीकार गर्ने जनाएका हुन् ।
उनले सो जानकारी शनिबार बिहान ट्वीटमार्फत दिएको समाचारमा जनाइएको छ । यस विषयमा रुसको भने कुनै प्रतिक्रिया आएको छैन । सुरुमा वार्तामा बस्न असहमत भएको सिरियाली विपक्षी समूहका प्रतिनिधिहरु भियनामा वार्ताका लागि भने पछिमात्र सहमत भएको बताइएको थियो ।
सिरियाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि स्टेफन डि मिस्टुराले उक्त वार्ताको आयोजना र मध्यस्थता गरेका थिए। भियना वार्तामा उनी आफै पनि संलग्न थिए। उनले सिरियाली र विपक्षको सहमतिमा यो वार्ताको लागि वातावरण बनेको बताउँदै यसलाई एउटा अन्तिम आशाको संज्ञा दिएका थिए।
सिरियामा जारी रहेको करिब ७ वर्ष लामो युद्धको अन्त्यका लागि भएको यो प्रयास पनि असफलतातर्फ उन्मुख भएको देखिएको छ। सिरियामा जारी हिंसामा परी हालसम्म कम्तीमा ३ लाख ४० हजार जना नागरिकको मृत्यु भएको छ।
साथै सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन् । सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि राष्ट्रसंघले गरेका वार्ताका प्रयासहरु सफल हुन सकेको छैन । रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।