काठमाडौं– धर्मको नाममा पशुपतिनाथ मन्दिर परिसरभित्र गाँजाको व्यापार बढेपछि पशुपति विकास कोष र प्रहरीले पूर्णरुपमा निषेध सुरु गरेको छ। पशुपतिलाई गाँजा निधेषित क्षेत्र घोषणा गर्न लागिएको छ।
केही हप्तायता प्रहरीले पशुपति क्षेत्रमा विशेष अपरेसन चलाई गाँजा व्यापार गर्ने १ सयभन्दा धेरैलाई पक्राउ गरिसकेको छ। गाँजा बेच्ने जोगीहरुलाई समेत पक्राउ गरी कारबाही गरिएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी अनुपम श्रेष्ठले बताए।
पशुपति क्षेत्र विकास कोष र प्रहरीले संयुक्त रुपमा पशुपति क्षेत्रमा सुधारका लागि मंसिर २० गतेदेखि नै अभियान चलाउँदै आएको छ। पशुपति क्षेत्र गाँजा सेवनकर्ताको अखडा बन्दै गएपछि पवित्र क्षेत्रको छविसुधारका लागि पनि यो अभियान सुरु गरिएको कोषका एक अधिकारीले बताए।
एकातिर पशुपतिमा दैनिक लाखौं रुपैयाँ बराबरको गाँजाको कारोबार हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन्। गाँजाका दुर्व्यसनीहरु समेत पशुपती क्षेत्रमा पुगेर सेवन गर्छन्।
बिहीबार एक कार्यक्रम गरी पशुपति क्षेत्र विकास कोष र प्रहरीले पशुपतिलाई गाँजा निषेधित क्षेत्र घोषणा गर्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।