काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन र पार्टी एकीकरण फरक कुरा भएकाले यसलाई संयुक्त हेर्न नमिल्ने बताएका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पार्टी एकीकरण दुई पार्टी र कार्यकताबीचको कुरा भएको टिप्पणी गरे।
सरकार निर्माण जनादेश र मतादेशको निर्देशन भएकाले त्यही अनुरुप हुनुपर्ने भन्दै ओलीले थपे, 'पार्टी एकीकरण एकताका लागि हुन्छ। सरकार मतादेशको कुरा हो, त्यही अनुरुप हिस्सा वितरण हुँदै निर्माण हुन्छ।’
पत्रकार सम्मेलनमा अधिकांश समय सरकारको आलोचनामै खर्चेका ओलीले पार्टी एकताका अब अघि बढिसकेकाले फर्कने बाटो नभएको टिप्पणी गरे।
'देउवा सरकारका निर्णयबारे नयाँ सरकारले पुनर्विचार गर्छ'
अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सम्पूर्ण निर्णयमाथि नयाँ सरकारले पुनर्विचार गर्ने चेतावनी दिएका छन्। राज्यलाई आर्थिक बोझ पर्ने र अनावश्यक निर्णय सरकारबाट सम्पादन भएको भन्दै ओलीले यस्तो चेतावनी दिएका हुन्।
‘यो कामचलाउ सरकारले गर्ने निर्णयहरु पनि कामचलाउ नै हुन्छन्’, उनले भने, ‘वाम गठबन्धनको सरकार जनादेशप्राप्त सरकार हो, यसले अहिले भइरहेका सबै निर्णयमाथि पुनर्विचार गर्छ।’
ओलीले निर्वाचनको परिणाम सार्वजनिक भइसक्दा पनि कानुनी छिद्रलाई देखाएर सरकार छाड्न अस्वीकार गर्नु गैरकानुनी भएको दाबी गरे। ओलीले निर्वाचन आयोग लाचार र सरकारको छाया भएको समेत आरोप लगाए।
आयोगको काम जनताले दिएको मतको परिणाम सार्वजनिक गर्ने भए पनि त्यसलाई रोकेर विभिन्न शक्ति केन्द्रको छाया हुने काम गरेको आरोप ओलीले लगाए।
सिलवाल र कोमल ओलीको बचाउ
अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षकको बढुवाका क्रममा कार्यसम्पादन मूल्यांकनको कागजात कीर्ते गरेको आरोपमा फरार रहेका पूर्व डिआइजी तथा सांसद नवराज सिलवालको बचाउ गरेका छन्।
सिलवाल विरुद्ध सरकारले ज्यादती गर्दै आएको आरोप लगाउँदै ओलीले नयाँ सरकार गठनपछि कीर्ते प्रकरणमा पुन: छानबिन हुने बताए।
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ५ मा एमालेले कोमल वलीलाई उम्मेदवार बनाएकोमा पार्टीभित्र समेत असन्तुष्टि भइरहँदा अध्यक्ष ओलीले उनको बचाउ गरेका छन्।
ओलीले राष्ट्रियसभाका लागि योग्य उम्मेदवार चयन गरेको भन्दै कोमलले उम्मेदवारी दिएको ठाउँमा अन्य प्रतिस्पर्धी नै नहुनुले उनी योग्य छन् भन्ने पुष्टि गरिसकेको टिप्पणी गरे। एमालेभित्र कोमल वलीको विषयमा कुनै विवाद नरहेको समेत उनले स्पष्ट पारे।
'अरुले जितेको रिसमा देश नै कंगाल बनाउने?'
अध्यक्ष ओलीले देउवा सरकारको पछिल्लो निर्णय लोककल्याणकारी राज्यको अवधारणा र जनताप्रतिको उत्तरदायित्वबाट नभई देशलाई बोझ बोकाउने कार्य भएको टिप्पणी गरे।
देशलाई संकटमा पार्ने सुनियोजित षड्यन्त्र वर्तमान सरकारले गरेको आरोप लगाउँदै ओलीले प्रश्न गरे, ‘अरुले जिते भनेर देश नै कंगाल बनाइदिने?’
फरार प्रदेश सांसद दीपक मनाङेको बारेमा सोधिएको प्रश्नमा त्यसबारे आफुलाई थाहा नभएको जवाफ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।