काठमाडौं- सर्वोच्च अदालतले उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति सम्बन्धी विवादको अन्तिम फैसला फागुन ३ गते सुनाउने भएको छ।
मंसिर २८ गतेदेखि निरन्तर हेर्दाहेर्दैमा चलेको बहसपछि बिहीबार फैसला सुनाउने मिति तोकिएको हो। रिट निवेदक, सरकारी वकिलको बहसपछि निर्णय सुनाउने मिति फागुनको पहिलो साताका लागि तोकिएको सर्वोच्चले जनाएको छ।
न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले उक्त मुद्दामा दुई महिनादेखि निरन्तर सुनुवाइ गरिरहेको थियो।
गत वर्ष पुस २९ मा उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति गर्दा प्रक्रिया नपुर्याई दलगत स्वार्थका आधारमा गरिएको भन्दै सरकारी वकिल कार्यालयका नायव महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, अधिवक्ता डिलहरि शर्मा, प्रकाशकुमार काफ्ले, सुरेन्द्रप्रसाद यादव र तोयानाथ ढुंगानाले रिट दायर गरेका थिए।
न्याय परिषद्का दुई सदस्य वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौलाको अनुपस्थितिमै न्यायाधीशको लागि नाम सिफारिस भएको थियो। परिषद् बैठकमा तत्कालीन परिषद् अध्यक्ष प्रधानन्यायाधीश सुशीला कार्की, कानुनमन्त्री अजयशंकर नायक र परिषद् सदस्य पदमप्रसाद वैदिक मात्र उपस्थित भएको हस्ताक्षर थियो।
पूर्ण सदस्य नै नभई न्यायाधीशको नियुक्ति गरिएकाले बदर हुनुपर्ने माग गर्दै ०७३ चैत र बैशाखमा गरी पाँच थान रिट दर्ता भएका थिए। तत्कालीन समयमा नेपाली कांग्रेस, माओवादी र न्याय परिषदका आफन्तहरुलाई उच्च अदातलको न्यायाधीशको रुपमा सिफारिस गरिएको थियो।
जिल्ला न्यायाधीशको रोलक्रममा पहिलो नम्बरमा रहेका न्यायाधीश काफ्ले आफू नपरेपछि त्यस विरुद्ध सर्वोच्च आफैं आएका थिए। उनले अवकाश पाइसके पनि मुद्दाको किनारा लागेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।