काठमाडौं- प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका लागि नवनियुक्त चार मुख्य न्यायाधीशलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।
सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले मुख्य न्यायाधीशहरु नहकुल सुवेदी, उदयप्रकाश चापागाई, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई सपथ ग्रहण गराए।
न्याय परिषद्ले २०७४ पुस २० गते रिक्त रहेका ४ मुख्य न्यायाधीशमा नियुक्तिका लागि उनीहरुको नाम सिफारिस गरेको थियो। सिफारिस गर्दा वरिष्ठतम
न्यायाधीश दीपकराज जोशीले सुवेदीको नाममा नोट अफ डिसेन्ट लेखेका थिए। पराजुलीले उनीहरुको पदस्थापन समेत गरेका छन्।
सुवेदीलाई तुलसीपुर, चापागाईलाई जनकपुर, बस्याललाई दिपायल, पोखरेललाई सुर्खेत उच्च अदालतको जिम्मेवारी दिइएको छ।
संविधानको धारा १४० को उपधारा १ बमोजिम उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति प्रधानन्यायाधीशले न्याय परिषद्को सिफारिसमा गर्ने व्यवस्था छ। संविधानको सोही धारा बमोजिम प्रधानन्यायाधीश पराजुलीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।
समारोहमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापा, सर्वोच्च अदालतका वरिष्ठतम माननीय न्यायाधीश दीपकराज जोशी, न्याय परिषद्का अन्य सदस्यहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।