एम्प्लिफाई प्लस ब्रान्डका टिभी नेपाली बजारमा, तीन वर्षको वारेन्टी

नेपाल लाइभ | २०७६ श्रावण २५ शनिबार | Saturday, August 10, 2019 १५:३५:०० मा प्रकाशित

काठमाडौं– नेपालका लागि एम्प्लिफाई प्लस ब्राण्डको आधिकारिक वितरक ईथ्री इलेक्ट्रोनिक्सले नेपाली बजारमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टेलिभिजन सार्वजनिक गरेको छ।

कम्पनीले शुक्रबार होटल सोल्टीमा कार्यक्रम आयोजना गरी सो ब्रान्डका टिभी नेपाली बजारमा भित्रिएको घोषणा गरेको हो।

भारतीय डिकेएम ग्रुप कम्पनीअन्तर्गतको एम्प्लिफाई इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय स्तरका टिभी, एचडी एलइडी टिभी सिरिज, एचडी स्मार्ट एलइडी टिभी सिरिज, फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी सिरिज उपलब्ध गराउँदै आएको छ।

एचडी एलइडी टिभी सिरिजमा न्यूनतम २४ इन्च, ३२ इन्च र ४० इन्चका एचडी एलइडी टिभी बजारमा उपलब्ध हुनेछन्।  स्क्रिन रिजोल्युसन १३६६×७६८ पिक्सेल भएका यी सिरिजमा इनबिल्ट गेम्स, पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, वाईफाई र एचडीएमआई लगायतका अत्याधुनिक फिचर छन्।

एन्ड्रोयडमा आधारित एचडी स्मार्ट एलइडी टिभी, फूल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभीका चार मोडलहरुमा १ जीबीको र्याम र ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ।

एम्प्लिफाई प्लस ब्राण्डका सम्पूर्ण टिभीहरुमा ३ वर्षका वारेन्टी प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ। यी टिभीमा यूट्यूब, नेटफ्लिक्स, गूगल प्ले, हटस्टार चलाउन सकिने विशेषता छ।