काठमाडौं- नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबारदेखि बयान लिन सुरु गरेको छ।
निगमको जग्गा खरिद भ्रष्टाचार काण्डमा परेका खड्कासँग अख्तियारले केही दिन लगातार बयान लिने अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले बताए। खड्कापछि यस प्रकरणमा जोडिएका अन्य व्यक्तिहरुको बयान लिने अख्तियारको तयारी छ।
मंगलबारको बयानमा खड्काले के भने? पढ्नुहोस् बयान:
आयल निगममा जग्गा प्राप्ति पहिले पनि टेन्डरबाट गरिसकेको नजिर छ। त्यही नजिरका आधारमा हामीले उक्त पटक जग्गा खरिद गरेका हौं। टेन्डरबाट गर्ने भन्ने निगमको नियमावलीको प्रावधानमै छ। म एक्लै सहभागी भएर कुनै पनि निर्णय गरेको छैन।
सञ्चालक समिति बैठकको म्यान्डेट पनि टेन्डरबाट जग्गा प्राप्ति गर्ने भन्ने पाएपछि सार्वजनिक टेन्डर आह्वान गरिएको थियो। त्यही प्रक्रिया अन्तर्गत सञ्चालक समितिले दिएको अधिकारभित्र रहेर कार्यसम्पादन गरेको हुँ।
टेन्डरको प्रक्रिया र सीमिततालाई नै अनुसरण गर्ने हो, मैले पनि त्यही गरेको हो। संसदीय समितिले डिजेल, पेट्रोलको भण्डारणका लागि तत्काल जग्गा खरिद गर्नू भनी निर्देशन दिएकाले छोटो प्रक्रिया मार्फत राज्यलाई कुनै पनि हानि नहुनेगरी खरिद गरिएको छ।
निगमले दिएको म्यान्डेटभित्रै रहेर जग्गा खरिद गर्दा भ्रष्टाचारको आरोप लाग्नु मप्रतिको प्रतिशोध मात्र हो।
प्रस्ताव आह्वान गर्दा कम मूल्यको प्रस्तावलाई स्वीकृति दिइएको हो। स्थानीय चलनचल्तीको रेट र मालपोतको रेट लिएर मान्यता दिइएकोलाई दिने हो र त्यसैलाई दिइएको छ। जग्गा खरिदका लागि ‘लेटर अफ इन्टेन्ट’ (आशयपत्र) दिइसकेपछि कुनै दाबी–विरोध आएन। पछि मात्र आफ्नो जग्गा बेच्न चाहेका केही व्यक्तिले भ्रष्टाचार भएको भनी सञ्चारमाध्यममा सार्वजनिक गराएका हुन्।
जग्गा खरिद गर्दा घुस दिइएको कुरा सत्य होइन। कसले कति पायो भन्ने कुरै भएन, ‘सप्लायर्स’ले जे दिएको छ, त्यसमा जानुपर्ने बाध्यता तत्कालीन समयमा थियो। कसले कतिमा बेच्यो भन्दा पनि टेन्डर गरेको हुनाले हामीले त्यसैलाई आधार बनाएर खरिद गरेका हौं। चलनचल्तीको मूल्यलाई नै आधार लिएका हौं। क्रसचेक गर्न समय थिएन र गर्ने प्रयास गर्दा सम्बन्धित स्थानीय तहबाट सप्लायर्सले दिएको विवरण नै प्राप्त भएको थियो।
आर्थिक उपार्जन गरौं भन्ने हाम्रो कुनै स्वार्थ छैन। भैरहवामा जग्गा पास गरेको भोलिपल्टदेखि सञ्चार माध्यममा भ्रष्टाचारको समाचार लेखाइयो। हाम्रो लक्ष्य स्टोरेज छिटोभन्दा छिटो बनोस् भन्ने थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।