अन्तर प्रदेश उडान गर्ने योजनामा पर्यटन मन्त्री भट्टराई

नेपाल लाइभ | २०७६ श्रावण २२ बुधबार | Wednesday, August 07, 2019 १७:१३:०० मा प्रकाशित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हवाई सेवा विस्तारका लागि अन्तरप्रदेश उडानको योजना ल्याउने भएका छन्।

दैनिक रुपमा हवाई यात्रको गर्नेको संख्या बढेसँगै मन्त्री भट्टराई अन्तर प्रदेश र  अन्तर विमानस्थल उडानको योजना अगाडि सारेका हुन्।
यसका लागि मन्त्रालयले सरोकारवाला वायुसेवा कम्पनीसँग छलफल गरेर निर्णय गर्ने समेत भट्टराईले जानकारी दिएका छन्।

‘अहिले  पोखराबाट केही वायुसेवा कम्पनीले चितवन र भैरहवा विमानस्थलमा उडान गरिरहेका छन्,' मन्त्री भट्टराईले भने, ‘यसलाई विस्तार गरी अन्तरप्रदेश उडान समेत गर्ने हो।’

मन्त्रालयले भरतपुर, सुर्खेत र राजविराज विमानस्थलमा समेत रात्रीकाली हवाई सेवा सुचारु गर्ने कामलाई पाइलपालइनमा राखेको मन्त्री भट्टराईको भनाइ छ। 

अहिले दुर्गम जिल्लाको केही विमानस्थलमा पोखरा र नेपालगञ्जबाट उडान भएपनि सुगमको विमानस्थलबाट सुगमै विमानस्थलमा उडान नभएको भन्दै अन्तर विमानस्थलको योजना अगाडि सारेको मन्त्री भट्टराईको भनाइ छ।

कालोपत्र हुने बाँकी रहेको विमानस्थलमा पनि क्रमश कालोपत्र गरिँदै लैजाने उनको भनाइ छ।

मन्त्री भट्टराई मन्त्रालयमै भएको छलफलमा पोखरा क्षेत्रीय विमानस्थलको निर्माण अति नै सन्तोषजनक रुपमा अघि बढेको बताएका छन्। 

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ४५ प्रतिशत काम सकिसेको छ,' मन्त्री भट्टराईले भने, ‘सरकारले सन् २०२१ को जुलाईदेखि विमानस्थल सञ्चालन गर्ने लक्ष्य लिएपनि अहिले भएको कामको गति हेर्दा तोकिएको समयअघि नै विमानस्थल सञ्चालन हुन्छ।’

हिमाल आरोहीको सहयोगीको काम निगरानीमा
मन्त्री भट्टराईले हिमाल अरोहीका लागि खटाइने सम्पर्क अधिकृतको विषयमा उठ्ने गरेको प्रश्नमाथि पनि निगरानी गर्ने बताएका छन्। सम्पर्क अधिकृतले सेवासुविधा बुझेर फिल्डमा नगएका ‘लियाजो’ अधिकृतमाथि कारबाही समेत गर्ने मन्त्री भट्टराई स्पष्ट पारेको छन्।

साथै मन्त्री भट्टराईले लियाजो अधिकृतको सम्पूर्ण विवरण मन्त्रालयमा पेस गर्न समेत  पर्यटन विभागलाई निर्देशन दिएका छन्। 

सेवासुविधा बुझेर फिल्डमा नजाने अधिकृतका लागि सधैका लागि हिमाल जाने बाटो समेत बन्द गराउने गरी कारबाही गर्ने उनको भनाइ छ। तर, आफ्नो हिसाबले भने जान पाउने छन्। सरकारी तबरबाट जान मात्रै प्रतिबन्ध लगाउने मन्त्री भट्टराईको भनाइ छ।

निजगढ बन्दै गर्दा स्थानीयलाई नाङ्गो खुट्टा पठाउँदैनौं
सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दै गर्दा विस्थापित हुने स्थानीयलाई नाङ्गो खुट्टामा नपठाउने मन्त्री भट्टराईले प्रतिबद्धता गरेका छन्।

‘सरकारले कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्दैन। अहिले तोकिएकै ठाउँमा विमानस्थल निर्माण हुन्छ,' मन्त्री भट्टराईले भने, ‘स्थानीय बासिन्दालाई सही तबरबाट अन्य ठाउँमा स्थान्तरण गरिन्छ।’

विमानस्थल निर्माणको विषयमा अब ठूलो अध्ययन आवश्यक नरहे पनि निर्माणको मोडालिटी र लगानीको विषयमा भने छिट्टै निर्णय गर्ने उनको भनाइ छ। अहिले निजगढ विमानस्थल निर्माणमा दुई वटा मात्रै समस्या रहेको समेत उनको भनाइ छ। पहिलो समस्या टागियाँ बस्तीको व्यवस्थापन र दोस्रो रुख कटानी रहेको समेत उनको  मन्त्री भट्टराईको भनाइ छ।

सरकारले टागियाँ बस्ती व्यवस्थापनमा दुई वटा विधि अपनाउने  छ। पहिलोमा सरकारले तोकेको रेटको मुआब्जा बापतको सबै रकम दिएर आफैं स्थान्तरण हुन दिन र अर्को सरकारले नै उचित ठाउँमा स्थातन्तरण गर्ने मन्त्री भट्टराईले बताए।

यसैगरी रुख कटानको विषयमा पनि मन्त्री भट्टराईले वातवराण विनाश हुने गरी काम नगर्ने बताएका छन्। ‘कति रुख काटिन्छ अझै पनि संख्यागत रुपमा एकिन भइसकेको छैन’, उनले भने, ‘कटानी हुने रुखको एकिन भएपछि त्यसको पनि सही रूपमा व्यवस्थापन हुन्छ।’

मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थललाई विश्वस्तरमै उत्कृष्ट र सानदार विमानस्थल बनाउने समेत बताएका छन्। उक्त विमानस्थलको विकल्प खोज्ने पक्षमा आफू नरहेको पनि भट्टराईले स्पष्ट पारेका छन्। 

‘निजगढलाई विश्वकै सानदार विमानस्थल बनाउने हो। म वन विनाश गर्न आएको होइन,’ उनले भने, ’निजगढको काम अगाडि बढ्छ। सन् २०१९ भित्रै शिलान्यास हुन्छ। यसका लागि राजनीतिक सर्वदलीय सहमतिसँगै प्रदेश २ सरकारसँग पनि सहकार्य हुन्छ।’

भिजिट नेपालका संयोजकसँग भेट हुन पाएन
सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल २०२०’ को रुपमा मनाउने गरी तयारी गरेको छ। भिजिट नेपाल मनाउने सरकारले २० लाख पर्यटक समेत नेपाल भित्र्याउने उद्घोष गरेको छ। तर, पर्यटन मन्त्री भट्टराईले पनि मन्त्रालयको जिम्मेवारी समालेको एक सातासम्म पनि भिजिट नेपालका संयोजकलाई भेटन नपाएको गुनासो  पोखेका छन्।

‘मन्त्रालयको जिम्मेवारी समालेका एक सातामा मन्त्रालयसँग जोडिने सबै  निकायहरुसँग छलफल गरिसकेको छु। तर, भिजिट नेपालको संयोजकसँग भेटन पाएको छैन,' मन्त्री भट्टराईले भने, ‘उहाँ विदेश भ्रमणमा हुनुहुँदो रहेछ। नेपाल आएपछि लगत्तै भेटेर भिजिट नेपालको तयारीमा अगाडि बढने छु।’