जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा औद्योगिक वातावरण निर्माणको लागि संघीय सरकारले अप्ठ्यारो अवस्था सिर्जना गरेको आरोप लगाएका छन्।
आइएलओले आज जनकपुरमा आयोजना गरेको साना तथा मझौला उद्योगको लागि उपयुक्त वातावरण निर्माणसम्बन्धी सार्वजनिक निजी संवाद कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले औद्योगिक विकासको लागि पहल थालिसकेको भए पनि संघीय सरकारले समयमा आवश्यक ऐनकानुन निर्माण गर्न नसकेकोले समस्या निम्तिएको आरोप लगाए।
उनले प्रदेश २ मा लगानी गर्ने उद्योगहरुलाई २० वर्षसम्म कर छुट गर्ने, जग्गाको व्यवस्थापन गर्ने जस्ता नीति अघि सारिए पनि संघीय सरकारका मन्त्रीहरुले विभिन्न बखेडा झिकेर प्रदेशको अधिकार क्षेत्रभित्र हस्तक्षेप गर्न खोजेको गुनासो गरे।
उनले औद्योगिक विकास बिना प्रदेश तथा देशको विकास हुन नसक्ने भएकोले लगानीकर्ताहरुको लागि आवश्यक ऐन, कानुन, सुरक्षाको ज्ञारेन्टीजस्ता कार्यहरु गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
मुख्यमन्त्री राउतले प्रदेश २ का युवाहरु रोजगार नपाएर खाडी मुलुकमा जान बाध्य भएकोले उनीहरुलाई रोजगारमुलक तालिम दिएर साना व्यवसायहरु सञ्चालनमा समक्ष बनाउन प्रदेश सरकारले ठोस योजनाका साथ अघि बढेको र त्यसको परिणाम केही दिनभित्रै देखिने दाबी समेत गरे।
कार्यक्रमको अध्यक्षता गरेका प्रदेश नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाले प्रदेश सरकारले औद्योगिक विकासका लागि लिएको नीतिबारे सविस्तार व्याख्या गरे।
त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्लेले नेपालमा औद्योगिक क्षेत्रको अवस्था र त्यसको चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
छलफल कार्यक्रममा प्रदेशका समाजिक विकासमन्त्री नवल किशोर साह, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय, प्रदेशसभा सदस्य राम अशिष यादव, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानलगायतको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।