काठमाडौैं– स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेको नेपाली कांग्रेस आर्थिक रुपमा समेत कमजोर देखिएको छ। निर्वाचन आयोगमा दलहरुले बुझाएको आयव्ययको विवरण अनुसार कांग्रेसलाई करिब ७ करोड रुपैयाँ ऋण लागेको छ।
आयोगमा बुझाइएको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा ३ करोड ७ लाख ६९ हजार ४८ रुपैयाँ आम्दानी गरेको कांग्रेसले ९ करोड ७६ लाख ८३ हजार २ सय ४८ रुपैयाँ खर्च गरेको छ। जसका कारण कांग्रेसलाई ६ करोड ६९ लाख १३ हजार ५ सय ४० रुपैयाँ ऋण लागेको देखिएको छ।
कांग्रेसको प्रवक्ता नियुक्त भएका विश्वप्रकाश शर्माले निर्वाचन आयोगमा बुझाएको खर्च विवरणको अध्ययन गर्न बाँकी रहेको बताउँदै आर्थिक रुपमा पार्टीलाई बलियो बनाउन नवीनशैली अपनाउन आवश्यक रहेको बताए। नेपाल लाईभसँग कुरा गर्दै प्रवक्ता शर्माले भने, ’आर्थिक रुपमा पार्टीका कार्यकर्ता तथा नेतालाई आत्मनिर्भर बनाउने योजना अगाडि सारिनेछ।’
दलहरुले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा दल दर्ता गर्ने समयमा गत आर्थिक वर्षको आयव्यय विवरण बुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।