सुर्खेत– प्रदेश नम्बर ६ को प्रदेशसभा सदस्य प्रकाश ज्वाला भन्छन्, ‘आगामी पाँच वर्षभित्र प्रदेश ६ लाई नेपालकै धनी, सवल र समृद्ध बनाउन सकिन्छ।’
त्यसका लागि के छन् त उनीसँग आगामी योजना?
भन्छन्, ‘गरीबी, भोकमरी र अशिक्षाको अन्त्य गर्ने हो भने यो प्रदेश समृद्ध मात्रै होइन, नमुना नै बन्न सक्छ।’
अर्का सांसद यामलाल कँडेलको मत पनि ज्वालाकै जस्तो छ।
‘हामीसँग उपलब्ध स्रोत र साधनलाई मात्रै सदुपयोग गर्न सक्ने हो भने यो प्रदेशको समृद्धिका लागि अरु धेरै गर्नैपर्दैन’, कँडेलको भनाइ छ।
कँडेलले पनि विकासमा पछि परेको र सबैभन्दा धेरै नागरिक गरीब भएको यो प्रदेशको गरीबी अन्त्य गर्ने, भोकमरी हटाउने र शिक्षामा सबैको सहज पहुँच स्थापित गरी अशिक्षा हटाउने हो भने प्रदेश नम्बर ६ को समृद्धिलाई कसैले रोक्न नसक्ने उनको तर्क छ।
कँडेल र ज्वाला मात्र होइन, पद तथा गोपनीयताको सपथ लिएसँगै प्रदेश नम्बर ६ का सांसदहरु यो प्रदेशको चुनौती र सम्भावनाहरुबारे छलफल र बहस गर्न थालेका छन्। उनीहरुले गरीबी, भोकमरी र अशिक्षाको अन्त्य नै अब बन्ने प्रदेश सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।
सांसदहरुले सबैभन्दा धेरै नागरिक गरीबीको रेखामुनि रहेको यो प्रदेशलाई पाँच वर्षभित्र गरीबीमुक्त बनाउने प्रतिबद्धता जनाएका छन्। गरीबी, भोकमरी र अशिक्षा अन्त्य गरेमा मात्र प्रदेश ६ को समृद्धि सम्भव हुनेमा उनीहरुको समान धारणा छ।
प्रदेश सभाका ज्येष्ठ सदस्य हिमबहादुर शाहीले गरीब र समस्या नै समस्याले ग्रस्त क्षेत्रको रुपमा पहिचान बनाएको कर्णालीको पहिचान अब बदल्नुपर्ने बताए। दलीय स्वार्थका आधारमा नभई यो क्षेत्रको हितमा सबैले सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ।
सांसद यामलाल कँडेलले प्रदेशका समस्याहरूको पहिचान गरी साझा एजेन्डा बनाएर समाधानका लागि काम गर्ने बताए। उनले केन्द्रीय सरकारबाट उपेक्षामा परेको यो क्षेत्रलाई अब प्रदेश सरकारको नेतृत्वमा विकसित बनाइने जिकिर गरे। प्रदेश नम्बर ६ को राजधानीलाई केन्द्रीय राजधानीसँग सीधा हवाई सेवाले जोड्नुपर्ने र अन्य सबै जिल्लालाई पनि प्रदेश राजधानीसँग जोड्नुपर्ने कँडेलको भनाइ छ।
अर्का सांसद विन्दमान विष्टले स्थानीय, प्रदेश र केन्द्रीय सरकारबीच समन्वय गर्दै प्रदेश नम्बर ६ लाई समृद्ध बनाइने बताए। उनले विगतमा जुनसुकै पार्टीबाट चुनाव जितेको भए पनि ६ नम्बर प्रदेशलाई समुन्नत बनाउने काममा एकमत हुने जनाए।
सांसदहरुले सबै मिलेर प्रदेश समृद्धिको खाका तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।