काठमाडौं- नेपाली कांग्रेसले प्रदेश ४ बाट राष्ट्रियसभाका लागि अपाङ्गको क्लस्टरमा गोपाल शर्मालाई उम्मेदवार बनाएको छ। शर्मा यस्ता पात्र हुन्, जसलाई हेरेर माओवादी सशस्त्र युद्धताकाको ज्यादति महसुस गर्न सकिन्छ।
शर्मा ०४६ सालयता कांग्रेसका क्रियाशील सदस्य हुन्। रुकुम खोलागाउँका शर्मालाई तत्कालीन माओवादी कार्यकर्ताले आँखामा तेजाब खन्याएर दृष्टिविहीन बनाइदिएका थिए। २०५५ साउन ११ को राति बास माग्ने बहानामा आएका माओवादी कार्यकर्ताले 'सुराकी'को आरोपमा कुटपिट गरी आँखामा तेजाब खन्याइदिएपछि उनका दुवै आँखाको दृष्टि गुमेको थियो।
त्यसपछि माओवादीले शर्माको घरजग्गा कब्जा गरेका थिए। उनी विस्थापित भएपछि लामो समय कोहलपुरमा बसेका थिए। पछि उनको जग्गा भने फिर्ता भयो, तर दृष्टि फिर्ता भएन।
त्यसयता उनी श्रीमतिको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन्। १९ वर्षअघि माओवादी ज्यादतिको शिकार भएका शर्मा यतिबेला माओवादीहरुसँगै राजनीतिक प्रतिस्पर्धामा उत्रिएका छन्।
शर्मालाई राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बनाउने निर्णयले पार्टीभित्रै चर्चा पाएको छ। कांग्रेसका नेता-कार्यकर्ताले उक्त निर्णयको प्रशंसा गरेका छन्। प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै भनेका छन्- 'दुवै आँखामा तेजाब हालेर माओवादीले रुकुमका गोपाल शर्मालाई दृस्टिविहीन बनाएका थिए, कांग्रेसले आज उहाँलाई राष्ट्रियसभाको उम्मेदवार बनाएको छ ! हार्दिक सम्मानपूर्वक उहाँलाई हार्दिक शुभकामना!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।