काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनमा आफ्नो दलकातर्फबाट उम्मेदवार बनाउन नेपाली काँग्रेस र नेकपा (एमाले) दुवैसँग छलफल गर्ने भएको छ।
पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो छलफल गर्ने निर्णय गरेको हो।
छलफलका लागि नेताहरु सुशील श्रेष्ठ, कुन्तीकुमारी शाही, बिक्रमबहादुर थापा र गीताभक्त जोशी रहेको वार्ता समिति गठन गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए।
छलफलपछि मात्र पार्टीले एउटा दलसँग सहकार्य गरी दलकातर्फबाट उम्मेदवारको नाम सार्वजनिक गर्ने छ। निर्वाचनमा जुन दलसँग समन्वय गर्दा अधिकतम उम्मेदवारलाई जिताउने सम्भावना हुन्छ, सोही दललाई राप्रपाले पनि सहयोग गर्ने जनाइएको छ।
बुधबार मध्याह्नभित्र उम्मेदवारको टुंगो लगाएर उम्मेदवारी मनोनयन गराइने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।