नाडा अटो शोमा यामाहाको एमटी–१५ र शक्तिशाली स्कुटर  

नेपाल लाइभ | २०७६ श्रावण २२ बुधबार | Wednesday, August 07, 2019 १२:२१:०० मा प्रकाशित

काठमाडौं- सवारी बिक्रेताहरुलाई यतिबेला सवारी मेलाको तयारीले भ्याइनभ्याई भइरहेको छ। नयाँ उत्पादन ल्याउने र तिनलाई आकर्षक बनाएर प्रदर्शनीमा उतार्न व्यवसायीहरु लागि परेका छन्।

यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले यामाहाका दुई नयाँ उत्पादन नेपाली बजारमा ल्याउने भएको छ। नाडा अटो शोमा यामाहाको 'एमटी–१५' र १ सय ५५ सिसीको शक्तिशाली 'एनम्याक्स' स्कुटर राखिने भएको छ।

यामाहा एमटी–१५ केही समय पहिले भारतीय बजारमा सार्वजनिक भएको थियो। नेपालमा केही समयअघि भित्रिएको एटी–१५ कम्पनीले नाडा अटो शोकै क्रममा सार्वजनिक गर्ने तयारीसहित बजारमा ल्याएको छैन।

यामाहा एमटी–१५ मा १५५ सिसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन छ। ६-स्पिड ट्रान्समिसनयुक्त सो इन्जिनले १९.३ बिएचपी पावर र १.७ एनएम टर्क जेनेरेट गर्छ। त्यसैगरी, यसमा स्लिपर क्लच रहेको छ।

स्कुटरमा १५५ सिसी लिक्विड कुल्ड, फोर भल्व इन्जिन छ, जसले १४.८ पिएस पावर र १३.५ एनएम टर्क प्रदान गर्छ। एनम्याक्समा एलइडी लाइटिङ सेटअप, डिजिटल इन्स्ट्र्युमेन्ट क्लस्टर, एबिएस र डिस्क ब्रेक जस्ता सुविधा छन्। अघिल्लो भागमा विन्डस्क्रिन, स्प्लिट फ्लोरबोर्ड र लामो सिट छ। स्कुटरमा किलेस स्टार्टको सुविधासमेत उपलब्ध रहेको छ।

त्यस्तै एनम्याक्समा ६.६ लिटर क्षमताको इन्धन ट्यांकी रहेको छ। हेर्दा निक्कै आकर्षक देखिने यो स्कुटर नेपाली बजारमा हाल परीक्षणको क्रममा रहेको छ।

त्यस्तै, यामाहाका अन्य मोटरसाइकल तथा स्कुटर पनि अटो शोमा प्रदर्शनीका लागि राखिने एमएडब्लूले जनाएको छ।