वायुसेवा निगममाथि पर्यटनमन्त्रीको 'स्ट्राइक': एक महिनाभित्र अवस्था अध्ययन गर्न कार्यदल गठन

नेपाल लाइभ | २०७६ श्रावण २२ बुधबार | Wednesday, August 07, 2019 ११:५४:०० मा प्रकाशित

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निमगको वर्तमान अवस्थाको अध्ययन गरी निगम सुधारका उपाय पहिचानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न अध्ययन कार्यदल गठन गरेका हुन्।

पर्यटन मन्त्रालयका पूर्वसचिव सुशील भट्टराई संयोजक रहेको कार्यदलमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिम प्रकाश पौडेल, क्याप्टेन सुधीर शमशेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेका छन्। लामिछानेलाई सदस्यसचिवको जिम्मेवारी पनि दिइएको छ।

कार्यदललाई ५ वटा पक्ष नै तोकेर जिम्मेवारी दिइएको छ। मन्त्रालयले तोकेको जिम्मेवारीअनुसार निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने, निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने र निगमको कानुनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकी एवं व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचनान तथा विश्लेषण गर्ने रहेको छ।

यसैगरी यी पक्षहरुमा तत्कालीन र दीर्घकालीन सुधारका लागि ठोस कार्ययोजना पेस गर्ने र निगम सुधारका लागि उपयुक्त देखेका अन्य सुझाव दिन सक्ने गरी जिम्मेवारी दिइएको छ। (फाइल तस्बिर)