भक्तपुर- ७० वर्षका एक वृद्धले भक्तपुरबाट सवारी चालक अनुमतिपत्र प्राप्त गरेका छन्।
सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका पूर्णबहादुर बस्नेतले स्कुटरको परीक्षा उत्तीर्ण गरेका छन्। आइतबार लिखित परीक्षा उत्तीर्ण गरेका बस्नेतले मंगलबार प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरेका हुन्।
बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश बस्नेतका पिता हुन्।
उनले ३९ वर्षदेखि साइकल चलाउँदै आएको अनुभव सुनाए। दुई वर्षअघि नातिनीको स्कुटर चलाउन थालेका उनले स्कुटरमा श्रीमतीलाई राखेर धार्मिक मठमन्दिरमा जान अब सजिलो भएको भन्दै खुसी व्यक्त गरे।
उनले भने, 'कहिलेकाहीँ घर वरपर स्कुटर चलाउँदा छोराले लाइसेन्स नलिई चलाउँदा असुरक्षित भइन्छ भनेपछि लाइसेन्सको ट्रायल दिएको हुँ, पास भएँ।'
बस्नेतले राधेराधेस्थित ट्रायल सेन्टरमा एक साता परीक्षासम्बन्धी ज्ञान लिएपछि पहिलो पटकमै लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।