जाकार्ता- इन्डोनेसियाको राजधानी जाकार्तामा मङ्गलबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। मङ्गलबार बिहानको सो भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन। यहाँका नागरिक अहिले घरबाहिर र सडकमा बसिरहेका छन्। जाकार्ताका सरकारी कार्यालय भवनहरु पनि मङ्गलबार खाली रहेको बताइएको छ।
भूकम्पबाट भएको मानवीय तथा भौतिक सम्पत्ति क्षतिको भने हालसम्म कुनै विवरण आइसकेको छैन।
यस भूकम्पको केन्द्रविन्दु जाभा द्वीपको बानटेन प्रान्तबाट ८१ किलोमिटर दक्षिण पश्चिममा जमिनको सतहबाट १० किलामिटर गहिराईमा रहेको इन्डोनेसियाली भू–गर्भ विभागले जानकारी दिएको छ ।
इन्डोनेसिया विश्वको अन्य भूगोलको तुलनामा भूकम्पको प्रकोपले बारम्बार सताउने देशमा पर्छ ।
बिहानको सो भूकम्पपछि ठूलो सङ्ख्यामा सेना र प्रहरी परिचालन गरिएको छ । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ठूलो क्षतिको अनुमान गरेका पनि प्राप्त समाचारहरुमा जनाइएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।