याङ्गुन- हाल बङ्गलादेशमा रहेका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउने विषयमा म्यानमारका विदेश मन्त्री तथा राज्य सल्लाहकार आङ सान सुकीले राखिने राज्यका अधिकारीहरुसँग छलफल गर्न गर्ने भएकी छिन्।
उनले शरणार्थीहरुको फिर्तीका लागि उक्त राज्यले अवलम्बन गर्नुपर्ने विशेष कार्यक्रमका बारेमा सल्लाह तथा त्यसका लागि आवश्यक कार्ययोजना पनि पारित गर्न लागेकी छन्।
म्यानमार र बङ्गलादेशका अधिकारीहरुबीच रोहिङ्ग्याको फिर्तीका लागि गत महिना नै सहमति भएको थियो । उक्त सहमति बमोजिम रोहिङ्ग्यालाई बुधबारदेखि स्वदेश फर्काउने कार्यक्रम रहेको छ ।
उनीहरुलाई म्यानमार फिर्ता गर्न लागिएको एक दिनअघि सो विषयमा विदेशमन्त्री सुकीले आवश्यक कार्ययोजना तयार गर्न भन्दै सल्लाह गर्न लागेकी हुन्।
गत अगष्ट महिनामा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफि अन्नानको संयोजकत्वमा रहेको राष्ट्रसंघीय एक आयोगले प्रतिवेदन सार्वजनिक गर्दै रोहिङ्ग्यालाई जतिसक्दो चाँडै स्वदेश फर्काउने वातावरण बनाउन सुझाव दिएको थियो ।
रोहिङ्ग्या मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै भएको आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिने राज्यभित्र र बाहिर विस्थापित भएका छन्।
गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको हो। सो विवादका कारण रोहिङ्ग्याले देश छोडेका छन्। जसका कारण म्यानमारमा ठूलो राजनीतिक तनाव पनि सुरु भएको छ।
अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या छ लाख भन्दा बढी पुगेको छ। उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यवस्था नरहेको बताइन्छ।
यता स्वदेशभित्रै आन्तरिक शरणार्थीे बनिरहेकाहरुको अवस्था पनि त्यस्तै छ। विस्थापित यी व्यक्तिहरू पहाडी इलाकामा बस्दै आएका छन् र खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार बिना नै बसेका बताइएको छ।
उता म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ । सरकारले सेनाले नै जनता लखेटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको दावी गर्दै आएको छ ।
म्यानमारका विदेशमन्त्री एवम् म्यानमार राज्यका राज्य सल्लाहकार आङ् सान सुकीले पनि उक्त समुदायका नागरिकमाथि यहाँको सरकारले ज्यादति गरेको भनी दुष्प्रचार मात्र गरिएको बताउँदै आएकी छिन्।
यस विषयमा छलफलका लागि राष्ट्रसंघीय सुरक्षा परिषदले पनि बारम्बार वार्ता गर्दै आएको छ । राष्ट्रसंघको दवाबका कारण पनि रोहिङ्ग्यालाई स्वदेश फर्काउने निर्णयमा दुवै देश पुगेका हुन् ।
म्यानमार सरकारले गत डिसेम्बर १४ मा एक सल्लाहकार परिषदको गठन गरेको थियो । म्यानमार र थाइल्याण्डका उच्च अधिकारीहरुको सहभागितामा निर्माण गरिएको सो परिषदले रोहिङ्ग्याको फिर्ताका लागि केही काम गरेको थियो ।
त्यस विषयमा मङ्गलबार सुकीले बोलाउनुभएको बैठकमा छलफल हुने बताइएको छ । सो बैठकमा उनीहरुको फिर्तीका लागि आवश्यक कार्ययोजनाका बारेमा तयारी गरिने पनि जानकारी दिइएको छ ।
सुरक्षा माग्दै प्रदर्शन
उता बङ्गलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीले आफूहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्। बङ्गलादेशको कोक्स बजार क्षेत्रमा शरणार्थी शिवीरहरुमा बस्दै आएका उनीहरुले आफूहरुलाई स्वदेश फर्काइएपछिको सुरक्षाको सुनिश्चितता माग गर्दै प्रदर्शन गरेका हुन् ।
स्वदेश फर्किएपछि पनि सेनाले आफूहरुलाई बस्न र सुरक्षाको प्रत्याभूति दिनेमा आफूहरु ढुक्क हुने अवस्था नरहेको उनीहरुको भनाइ छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।